राज्यकोषको ब्रम्हलुट, बाँडियो तीन करोड

maitrinews

 

काठमाडौं। सरकारले चालु आर्थिक वर्षको मंसिरसम्ममा आर्थिक सहायताको नाममा तीन करोड रुपैयाँ बाँडेको छ । उच्च पदस्थ व्यक्तिको उपचार खर्च, आर्थिक सहायताका नाममा राज्यकोषबाट उक्त रकम खर्च गरिएको हो ।

राज्यबाट आर्थिक सहयोग लिनेमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्री प्रदीप नेपाल, पूर्वराष्ट्रपति डा। रामवरण यादवसम्म छन् । अर्थमन्त्रालयले रकमान्तर गरी गृह लगायतका मन्त्रालयबाट आर्थिक सहायता बाँडेको हो ।

मन्त्रालयका अनुसार यो आर्थिक वर्षमा राज्यबाट आर्थिक सहयोग लिने उच्चपदस्थमा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सबैभन्दा बढी ४८ लाख ५० हजार लिएका छन् । उहाँले दिल्लीमा उपचार खर्चका लागि राज्यकोषबाट सहयोग लिनुभएको हो ।

सरकारले रघुजी पन्तसमेत तीन जनालाई २७ लाख, प्रदीप नेपालसहित तीन जनालाई ३२ लाख र पूर्वराष्ट्रपति डा। रामवरण यादवलाई १० लाख रुपैयाँ आर्थिक सहयोग दिएको हो ।

यसैगरी रुकुम छायानाथ रारा नगरपालिका १० का राजबहादुर शाही र गुठीचौर ३ का पदमबहादुर बुढाको परिवारलाई ७ लाख, विराटनगरका जीवन कुमार राईलाई तीन लाख, काठमाडौं १५ निवासी प्रदिप नेपाल र मैया भुजेललाई १४ लाख रकमान्तर गरी आर्थिक सहयोग गरिएको बताइएको छ ।

कलाकार जेवी टुहुरेको औषधिउपचार बापत, छोरी निर्भिका टुहुरेलाई ८ लाख ३० हजार राज्यकोषबाट भुक्तानी भएको छ । बागमती प्रदेशका सांसद यादवचन्द्र शर्माको उपचार र कुरुवा खर्च बापत एक लाख २९ हजार ६२५ रुपैयाँ सहयोग गरिएको छ ।

गुरुमा धम्मासतिको उपचार गर्न ४६ हजार ८२३, खरिदार रिना लामालाई आर्थिक सहायता ४५ हजार, रामबहादुर साउँदसमेत १२ जनालाई ५९ लाख ९ हजार १०५, मोतिपुर घटनाका २४ जना घाइतेको उपचारका लागि ११ लाख ३० हजार ४४४, कुमार खड्कासमेत तीनजनालाई १४ लाख, घन कटवालसमेत दुई जनालाई १० लाख, ज्ञानबहादुर रोकायासमेत २ जनालाई ८ लाख र नानिवावु खड्कालाई ५ लाख आर्थिक सहयोगका लागि रकमान्तर गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

मोतिपुर घटनाका मृतक वीरेन्द्रप्रसाद कुर्मी, रमेश परियार, युजल कुमाल र केश नारायण केवटका परिवारलाई किरिया खर्च र क्षतिपूर्ति स्वरुप २२ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।

मन्त्रीपरिषद्को निर्णय अनुसार उक्त आर्थिक सहयोग भुक्तानीका लागि अर्थ मन्त्रालयले गृहलगायतका विभिन्न मन्त्रालय र स्थानिय तहलाई समेत रकमान्तर गरेर भुक्तानी दिएको हो । अनावश्यक र पहुँचवाला व्यक्तिलाई समेत सहायतको नाउँमा रकम बाँडेपछि राज्यकोषको ब्रमलुट भएको भन्दै आलोचना सुरु भएको छ ।