काठमाडौंको खाली जग्गा भूमाफियाको कब्जामा

 

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको खाली जग्गा भूमाफियाहरुका कब्जामा रहेको बताउनुभएको छ ।

मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

उहाँले काठमाडौंका खाली ठाउँमा भूमाफियाले आफ्नो नाममा लिने काम भइरहेको भन्दै यसमा सचेत भएर काम गर्नुपर्ने बताउनुभयो।

यसलाई नियन्त्रण गर्न नसके भविष्यमा काठमाडौंमा खाली ठाउँ नहुने बताउँदै प्रधानमन्त्री देउवाले काठमाडौंमा फोहोरको समस्या जटिल बन्दै गएको भन्दै फोहोरबाट विद्युत र ग्याँस निकालेर व्यवस्थापन गर्नुपर्ने बताउनुभयो।

‘अहिले काठमाडौंमा जुन किसिमको फोहोर नै फोहोर छ। व्यवस्थापन भएको छैन। यसलाई व्यवस्थापन गर्न जरूरी छ। ग्याँस निकाल्न सकिन्छ, बिजुली निकाल्न सकिन्छ। मैले आफैँले देखेर आएको छु धरानमा। फोहोरका थुप्रोलाई व्यवस्थित गरेर बिजुली निकाल्ने सम्भावना छ’, उहाँले भन्नुभयो, ‘विदेशी राजदूतहरुले पनि हामी त्यसको लागि काम गर्न तयार छौँ भनेका छन्। अर्को कुरा भूमाफियाहरुले जथाभावी ठाउँठाउँमा जग्गा हडप्दै गएका छन्। जसले पनि आफ्नो नाममा गरेका छन्। यसमा पनि ध्यान दिनुपर्नेछ। नत्र भोलि काठमाडौंका कुनै ठाउँ बाँकी हुने छैनन्।’

प्रधानमन्त्री देउवाले अहिले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहीतालाई ध्यान दिएर मात्रै काम गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *