क्षतिग्रस्त रुसी पानीजहाज डुब्यो, रुसी सेनाको प्रतिष्ठामा ‘ठूलो धक्का’
किभ । विस्फोटनका कारण क्षतिग्रस्त भएको रुसी नौसेनाको एक महत्त्वपूर्ण पानीजहाज डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको छ।
मस्क्भा नामक उक्त लडाकू पानीजहाजलाई आफूले क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले जनाएको छ ।
रुसी भाषामा मस्कोलाई भनिने मस्क्भा नाम दिइएको सो लडाकू पानीजहाज वास्तवमा रुसी सेनाको शक्तिको एक जल्दोबल्दो प्रतीक नै थियो।
५१० फौज रहेको सो पानीजहाज युक्रेनविरुद्ध रुसी नौसैनिक आक्रमणको प्रमुख हिस्सा पनि थियो।
किभले उसका नेप्च्युन क्षेप्यास्त्र प्रहारले मस्क्भा क्षतिग्रस्त भएको बताएको थियो।
पानीजहाजमा रहेका सबैलाई अर्को जहाजमा सारिएको उसले बताएको थियो।
खराब मौसमका माझ मस्क्भालाई किनारातर्फ तानेर लगिँदै गर्दा डुबेको रुसको रक्षा मन्त्रालयले बताएको छ।
