एमालेका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्थापित र उपप्रमुखका डंगोलको उम्मेदवारी दर्ता

 

काठमाडौँ । नेकपा एमालेका तर्फबाट काठमाडौँ महानगरपालिका प्रमुखमा केशव स्थापित र उपप्रमुखमा सुनिता डंगोलले उम्मेदवारी दिनुभएको छ । सोमबार मध्याह्न उहाँहरुले उम्मेदवारी दर्ता गराउनुभएको हो । उम्मेदवारी दर्ता गराउन उहाँहरु जुलुुुससहित राष्ट्रिय सभागृह पुग्नुभएको थियो ।
एमालेले जितेको काठमाडौँ महानगरपालिकामा यस पटक झन् सहज ढंगले केशव स्थापितको नेतृत्वमा चुनाव जित्ने दावी गरिएको छ । उम्मेदवारी दर्ता गराएपछि प्रमुखका उम्मेवार स्थापितले काठमाडौँमा जित्न सहज भएको बताउनुभयो ।
प्रदेश सांसदसमेत रहेका स्थापित २०५४ मा प्रमुखमा निर्वाचित हुनुभएको थियो । एमालेको तर्फबाट उम्मेदवार बनेका स्थापितले ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ भन्ने नाराका साथ निर्वाचनमा उठ्नुभएको थियो ।

त्यस्तै उपप्रमुखका उम्मेदवार डंगोल सन् २०११ की मिस नेवा हुनुहुन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले सञ्चारकर्मी डंगोललाई उपप्रमुख बनाउने निर्णय गरेको थियो ।

डंगोलले यसअघि स्वतन्त्र रूपमा मेयरमा उठ्ने घोषणा गर्दै प्रतिबद्धतापत्रसमेत सार्वजनिक गर्नुभएको थियो । डंगोलले काठमाडौंलाई सुन्दर, जीवन्त, सांस्कृतिक र व्यवस्थित महानगर बनाउनका लागि विभिन्न प्रतिबद्धता जनाउनुभएको छ । उहाँले आफ्नो ८ खम्बे विकास मोडेलमा स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रूपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, युवा, खेलकुद,रोजगारी तथा उद्यमशीलता, रिसर्च एन्ड डिभलपमेन्टु लाई समेट्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *