हङकङमा नयाँ प्रशासक चयन

maitrinews

 

काठमाडौं । हङकङमा नयाँ प्रशासकको चयन गरिएको छ । क्यारी लामको कार्यकाल सकिएपछि उनको ठाउँमा जोन ली नयाँ प्रशासकको रुपमा चयन गरिएको हो । ली एक मात्र उम्मेदवार थिए । चीन सरकारले हङकङमाथिको पकड झन् कसिलो बनाउन ली लाई नयाँ प्रशासकको रुपमा ल्याएको होे ।
बेइजिङका विश्वासपात्र ली सन् २०१९ मा हङकङमा भएको प्रजातन्त्र समर्थक आन्दोलनहरू दबाउन मुख्य भूमिका खेल्ने व्यक्ति भनेर चिनिएका छन । १५ सय जना सदस्य रहेको एउटा कमिटीले हङकङका प्रशासक चुन्ने प्रणाली रहेको छ । उक्त कमिटीमा लगभग सबै जना बेइजिङ समर्थक नै रहने गरेका छन। ली हङकङका पूर्व मुख्य सचिव हुन् भने प्रमुख प्रशासकपछि दोस्रो तहका उच्च अधिकारी पनि हुन् ।

सन् १९९७ मा बेलायतले हङकङ चीनलाई हस्तान्तरण गर्दा भएको सहमति चीनले पालना नगरेको भन्ने गुनासोबीच झन् कट्टर चीन समर्थक हङकङको प्रमुख प्रशासक बनेका छन् ।