भाउजूलाई करेन्टबाट बचाउन खोज्दा देवर–देवरानीको मृत्यु
दाङ : दाङको राप्ती गाउँपालिका–२ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहामगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहामगर करेन्ट लागेर मृत्यु भएका छन् । भाउजू भिमा गाहामगरलाई करेन्ट लागेकाले बचाउन गएकी देवरानी हिमा गाहामगरलाई करेन्ट लागेपछि उनका श्रीमान बासु गाहामगरले बचाउन खोज्दा देवर–देवरानी दुबैको मृत्यु भएको हो ।
करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए । त्यस्तै २७ वर्षीया भिमा गाहा मगर पनि घाइते भएकी छन् ।
प्रहरी निरीक्षक शाहका अनुसार सोमबार दिउँसो कपडा सुकाउँदै गर्दा भाउजु भिमा गाहामगरलाई करेन्ट लागेपछि उनकी देउरानी हिमा बचाउन पुगेकी थिइन् । तर हिमालाई पनि करेन्ट लाग्यो । त्यसपछि श्रीमतीलाई बचाउन पुगेका बासुले लठ्ठीले तारलाई हिर्काए । तर तार नै चुँडिएर उनको शरीरमा परेपछि दुवै जनालाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।
सुरुमा करेन्ट लागेकी भिमाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
