पहिरोले घर बगाउँदा म्याग्दीमा दुईको मृत्यु, तीन जना बेपत्ता
म्याग्दी : म्याग्दीको मालिका–२ रुमको तामिङमा बिहान पहिराले घर बगाउँदा दुुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
स्थानीय घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएर घटनास्थलमा गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको निवर्तमान वडा सदस्य समबहादुर विकले जनाएको छ ।
गोठे र उहाँकी श्रीमती गोरी विक पहिराेमा परेर घाइते भएका छन् । घामबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका हुन् । स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् ।
मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको जानकारी दिनुभयो । घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ ।
