करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु
सप्तरी : सप्तरीको कञ्चनरुप नगरपालिकामा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ ।
बुधबार राति करेन्ट लागेर ससुरा–बुहारी दुबै जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् ।
इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो ।
अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताउनुभयो ।
यस्तै सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा ५६ वर्षीय शिवशङ्कर साहको पनि आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
