कोदोको प्रवद्र्धन गर्न मकवानपुरमा कोदोकाे खेती पुन: सुरु
काठमाडौं कोदोको प्रवद्र्धन गर्न मकवानपुरमा कोदोको खेती सुरु गरेका छन् । नेपालमा कोदो उत्पादन घट्दै गएको भन्दै मकवानपुरका किसानहरुले कोदोको प्रवद्र्धनका निम्ती कोदोको खेती सुरु गरेका हुन् ।
विगतमा नेपालमा प्रशस्त मात्रामा उत्पादन हुने कोदोको हाल खेती हुन छाडेपछि राष्ट्रिय कृषक समूह महासङ्घको पहलमा यसको प्रवद्र्धन सुरु गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख ललित घलानका अनुसार मकवानपुर विगतमा अत्याधिक मात्रमा कोदो उत्पादन हुने जिल्ला हो । फेरि पनि कोदोको उत्पादन बढाउनुपर्ने उहाँको भनाइ छ ।
हाल जिल्लाका किसानहरु स्वतः कोदो प्रवद्र्धनमा लागेका छन् । पदमपोखरी, भीमफेदी तथा हटिया हर्नामाडी, हाँडीखोलालगायतका क्षेत्रका किसानले कोदो रोप्न सुरु गरिएको छ । कोदोको प्रवद्र्धन गरेर यसका परिकार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउनुपर्ने राष्ट्रिय किसान आयोगकी सदस्य तथा प्रवक्ता जीवन्ती पौडेलको भनाइ छ ।
कोदो आयात गर्नुपर्ने अवस्था आउनु कृषिप्रधान मुलुकका लागि दुर्भाग्यपूर्ण रहेकाले त्यो अवस्थाको अन्त्य गर्न आफू कोदो रोप्न अग्रसर भएको उहाँले बताउनुभयो । विदेशी मदिरालाई हतोत्साही गर्न कोदोको मदिरालाई वैधानिक तरिकाले उत्पादन गर्नुपर्ने उहाँको सुझाव छ ।
राष्ट्रिय समावेशी आयोगकी सदस्य विष्णु ओझा रैथाने बालीको संरक्षणमा राज्यले विशेष भूमिका खेल्नुपर्ने बताउनुहुन्छ । रैथानेबालीले यहाँको जनजीविकासँग विशेष महत्व राख्ने उहाँको भनाइ छ । कोदो देशका अल्पसङ्ख्यक तथा सीमान्तकृत जाति, समुदायको जीवनपद्धतिसँग जोडिएको अन्न भएकाले पनि यसको संरक्षण गर्दै उत्पादन बढाउनु पर्ने उहाँले बताउनुभयो ।
जिल्लाको पदमपोखरी, हटिया, हर्नामाडी, गढी, राईगाउँ, फापरबारी, भीमफेदी, पालुङजस्ता स्थानमा हजारौँ मुरी कोदो उत्पादन भएर निर्यात समेत हुने गथ्र्यो । अन्य नगदेबाली लगाउन थालेपछि कोदो खेती लगभग लोप हुने अवस्थामा पुगेको छ । नेपालमा लोप हुने अवस्था आए पनि विदेशबाट भने प्रशस्त मात्रामा आयात हुन थालेपछि नेपालमै उत्पादन बढाउने उद्देश्यले कोदोको खेती सुरु गरिएको भीमफेदीका किसान दीपक पुडासैनी बताउनुहुन्छ ।
राष्ट्रिय कृषक समूह महासङ्घका अनुसार कोदो नेपालको धान, मकै र गहुँपछि चौथो महत्वपूर्ण अन्नबाली हो । यसलाई नेपालको पहाडी भेगमा मकैपछिको दोस्रो बालीको रुपमा लिइन्छ । यसलाई कम उर्वर क्षमता भएको रुखो तथा पाखोबारीमा समेत खेती गरेर उत्पादन लिन सकिने बालीको रुपमा लिइन्छ ।
कोदोका बारेमा जानकार उद्धव अधिकारीका अनुसार यस बालीमा रोग तथा कीराको प्रकोप कम हुन्छ । जलवायु अनुकूलनीय र वातावरणमैत्री अन्नबालीको रुपमा पनि यसलाई लिने गरिन्छ । उहाँका अनुसार कोदोको बिउलाई १५ वर्षसम्म पनि भण्डारण गरेर राख्न सकिन्छ । कोदो समुद्री सतहदेखि ३०० मिटरको उचाइदेखि ती हजार मिटरसम्मको उचाइमा यसको खेती हुन्छ ।
कोदोमा रेसा, क्याल्सियम, फसफोरस, फलाम, लवण, अमिनोएसिडलगायत शरीरलाई अत्यावश्यक पर्ने पौष्टिकतत्व पाइन्छ ।
