काभ्रेको पनौतीमा अफ्रिकन स्वाइन फिवरबाट ६ सय बढी बंगुर मरे
काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको पनौतीमा अफ्रिकन स्वाइन फिवर को संक्रमणका कारण ६ सय बढी बंगुर मरेका छन् । फार्ममा पालिएका बङ्गुरमा गत सोमबार उक्त संक्रमण पुष्टि भएको हो ।
संक्रमणका कारण नगरका तीन स्थानका फार्ममा ६ सय सात बङ्गुर मरिसकेको नगर कृषि तथा पशुपंक्षी शाखाले जनाएको छ । उक्त रोगले नगरको वडा नं ५ स्थित टिम भिजन एग्रिकल्चर प्राली र गैरीगाउँ कृषि तथा पशुपक्षी फार्म तथा वडा नं १० को श्रेष्ठ बङ्गुर फार्ममा क्षति पु¥याएको हो ।
उक्त रोगका कारण हालसम्म किसानहरुको दुई करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिक रुपमा पालिएको बङ्गुरमा मात्रै देखिएको हो ।
विभिन्न स्थानमा पालन गरिएको बङ्गुरको नमूना परीक्षणबाट गत साता उक्त रोग देखापरेको थियो । नगरले निसंक्रमणका लागि जैविक सुरक्षा अपनाइएको जनाएको छ । रोगबाट मरेका पशुलाई व्यवस्थित तवरले जमिनमा गाडिएको छ भने थप संक्रमण हुन नदिन निसंक्रमण विधि अपनाइरहेको छ ।
शाखा प्रमुख सापकोटाका अनुसार नगर विपद् व्यवस्थापन समितिले स्थानीय किसानको क्षतिपूर्तिका लागि छलफल अघि बढाएको छ । यस्तै सम्भावित क्षेत्रमा थप परीक्षणको तयारी भइरहेको जनाएको छ ।
नगरका विभिन्न स्थान पालिएका बङ्गुरमा उक्त संक्रमण पुष्टि भएसँगै नगरले बङ्गुर ओसारपसार गर्न निषेध गरेको छ ।
पशु सेवा विभागले यस रोगलाई उच्च मृत्युदर भएको ‘अति खतरनाक’ महामारीजन्य रोग भनेको छ । विभागका अनुसार यो रोग पशुबाट मानिसमा भने सर्दैन ।
सन् २०१८ मा छिमेकी भारत, चीन र भूटानमा देखिएको यो रोग नेपाल प्रवेश गरेको करिब पाँच महिनापछि काभ्रेपलाञ्चोकको पनौतीमा पनि देखिएको हो ।
