मनाङमा ४९ नयाँ उद्योग थपिए, अधिकांश उद्योग कृषि तथा वन पैदावरमा आधारित

काठमाडौं : मनाङमा ४९ नयाँ उद्योग थपिएका छन् । थपिएका अधिकांश उद्योग कृषि तथा वन पैदावरमा आधारित छन् ।

एक वर्षका अवधिमा जिल्लामा ३१ कृषि तथा वन पैदावरमा आधारित नयाँ उद्योग थपिएको घरेलु तथा साना उद्योग कार्यालय मनाङका प्रमुख ऋषिराम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा १७ पर्यटन उद्योग र सेवा मुलक उद्योग एउटा थपिएको छ ।

हाल मनाङवासी निजी उद्योग दर्तातर्फ आकर्षित भएको पाइएको उहाँले बताउनुभयो । सो अवधिमा जिल्लामा ३६ जिल्ला निजी उद्योग दर्ता भएका छन् भने साझेदारी उद्योग १३ दर्ता भएका छन् ।

यस आर्थिक वर्षमा जिल्लामा विभिन्न तालिम तथा प्रविधि पनि हस्तान्तरण गरिएको छ । उद्योगलाई टिकाउ बनाउन विभिन्न तालिमका साथै प्रविधिको उपयोगलाई प्राथमिकता दिन सञ्चालकलाई सचेत गराउने र उद्योगलाई सक्रिय बनाइरहन प्रोत्साहनसमेत गर्ने गरिएको कार्यालयले जनाएको छ ।

सोही अवधिमा उद्यमशीलता विकास, अचार बनाउने तालिम, आधारभूत बेकरी निर्माण, आधारभूत हाते बुनाइ तथा पत्रकारिता तालिम लगायतका विभिन्न तालिमका साथै प्रविधि हस्तान्तरणसमेत गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *