स्वास्थ्य बीमा कार्यक्रम १० लाख रुपैयाँ बनाउन एमाले सांसद योगेश भट्टराई माग
काठमाडौं : प्रमुख प्रतिपक्षी दलले स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई दिने सरकारको तयारी भइरहेको भन्दै आपत्ति जनाएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले स्वास्थ्य बीमा कार्यक्रम व्यावसायिक बीमा नभएर सामाजिक सेवा कार्यक्रम रहेको भन्दै निजी क्षेत्रलाई जिम्मा दिने सरकारको तयारीप्रति आपत्ति जनाएका हुन् ।
स्वास्थ्य बीमा कार्यक्रम मार्फत उपचार गराउन सर्वसाधारणलाई निकै सहज भएको र यहि सहजतालाई ध्यान दिई एमालेले स्वास्थ्य बीमा कार्यक्रम १० लाख रुपैयाँको बनाउन पनि सरकार संग माग गरेको छ ।
एक लाख रुपैयाँले उपचार सम्भव नरहेको भन्दै उनले स्वास्थ्य बीमा कार्यक्रममा अब १० लाख रुपैयाँको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
पछिल्लो समय बीमाबापतको रकम भुक्तानी नभएको बहानामा अस्पतालहरुले कार्यक्रम नै बन्द गरेका भन्दै उनले यसप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बीमा कार्यक्रममा १७ लाख परिवार आवद्ध र ५६ लाख ५० हजार मानिस प्रत्यक्ष संलग्न रहेका छन्
भने ४०० सरकारी अस्पताल र ५० निजी अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रमअनुसार स्वास्थ्य सेवा प्रदान गरिदै आएका छन् ।
