म्याग्दीमा पहिरोले सात जलविद्युत् आयोजना निर्माण प्रभावित

काठमाडाैं : म्याग्दीमा पहिरोका कारण सात जलविद्युत् आयोजना निर्माण प्रभावित भएका छन् ।

रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई र मालिकाको एक जलविद्युत् आयोजना निर्माण प्रभावित बनेको हो ।

अरबौ लगानीमा निर्माणाधीन आयोजनाको काम नियमित नहुँदा निर्माण अवधि लम्बिने र लागत बढ्ने देखिएको छ । जिल्लामा तीन सय ५३ मेगावाट क्षमताका ११ जलविद्युत् आयोजना निर्माणाधिन छन् ।

जलविद्युत् आयोजनाका पहुँचमार्गमा पहिरो जाँदा इन्धन, निर्माण सामग्री र सुरुङ खन्न आवश्यक पर्ने विस्फोटक पदार्थ ढुवानीमा समस्या भएको छ ।

दग्नामबाट खसेको पहिरोका कारण झिँको सिमानामा रहेको बाँध, अडिट १ र २ को सुरुङ निर्माण रोकिएको छ ।

राहुघाट नदीमा आएको बाढीले ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्सले भाडामा लिएको डोजर बगाएको थियो । तुँदी पावर कम्पनी प्रवर्द्धक रहेको ३७ मेगावाट क्षमताको राहुघाट मङ्गले, ४८.५ मेगावाटको अपर राहुघाट र संयुक्त ऊर्जा प्रालिले निर्माण गरिरहेको २१.३० मेगावाट क्षमताको ठुलोखोला जलविद्युत् आयोजना निर्माणस्थल जोड्ने पहुँचमार्ग अवरुद्ध भएका छन् ।

तुँदी पावरका इञ्जिनियर प्रकाश तिमिल्सिनाले दग्नामको औरी, चिमखोला र मलाङको पहिरोका कारण डिजेल, सिमेन्ट, रड र विस्फोटक पदार्थ ढुवानी हुन नसकेको बताए । भएका सामान सकिएपछि भरिया र खच्चरमा बोकाउँदा महँगो पर्न गएको इन्जिनियर तिमिल्सिनाले बताए ।

धौलागिरि कालिका हाइड्रो लिमिटेडले मालिका गाउँपालिकामा निर्माण गरिरहेको २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाका आवासीय इञ्जिनियर बालकुमार रोकाले पहिले दैनिक तीन पटक विस्फोटक हुने गरेकोमा बर्खा लागेपछि एक पटक मात्र गर्न सकिएको बताए ।

धौलागिरि र मालिका गाउँपालिकामा अपर म्याग्दी हाइड्रोपावर लिमिटेडले निर्माण थालेको ५३.५० मेगावाट क्षमताको अपर म्याग्दी पहिलो र हाइड्रो इम्पायर प्रालिले धौलागिरि गाउँपालिका–४ मा निर्माण गरिरहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनास्थल पनि सडक सम्पर्कविच्छेद भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण थालेको १३२ केभी क्षमताको डाडाखेत सवस्टेशन निर्माणस्थल जोड्ने सडक पनि अवरुद्ध भएको छ । निरन्तरको बर्सातका कारण दिनमा मर्मत गरिने सडक रातमा भत्किने गर्छन् । निर्माण सामग्री र इन्धनको व्यवस्थापन गर्न नसक्दा आयोजनाका निर्माण कम्पनीले मजदुर घटाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *