चितवनमा अत्याधुनिक प्रविधिको क्यान्सर अस्पताल प्रयोगमा आउने
चितवन : चितवन मेडिकल कलेजले दुई अर्ब लगानीमा सिएमसी क्यान्सर इन्स्टिच्युट निर्माण गरेको छ । इन्स्टिच्युट आगामी दशैं अघि नै सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
मेडिकल कलेजले आफ्नो भगिनी संस्थाको रुपमा क्यान्सर इन्स्टिच्युट सुरु गर्न लागेको हो । दशैं अघि नै रेडिएसनको सेवा दिने गरी तीव्ररुपमा काम भइरहेको छ । अस्पतालका निर्देशक डा दयाराम लम्सालले इन्स्टिच्युटमा अत्याधुनिक प्रविधिका उपकरण जडान गरिएको जानकारी दिनुभयो ।
नेपालका क्यान्सरका बिरामी अब विदेश जानु पर्दैन । भारतको दिल्लीका ठूला अस्पतालमा जडान गरिएकाभन्दा आधुनिक उपकरण यहाँ जडान भएको निर्देशक लम्सालको भनाई छ ।
क्यान्सर सँगसँगै अन्य उपचारका लागि सँगै मेडिकल कलेज भएकाले केही खर्च कटौती भएको जनाइएको छ । यस इन्स्टिच्युटमा रेडिएसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, रक्त क्यान्सरको उपचार, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचार र प्रत्यारोपण हुने निर्देशक डा लम्सालको भनाइ छ ।
भारत, अमेरिकाजस्ता देशमा अध्ययन गरेर ठूला अस्पतालमा काम गरिरहेका मेडिकल अङ्कोलोजी, रक्त क्यान्सर, सर्जरीलगायतका समूह यहाँ ल्याईदै छ । उहाँले भन्नुभयो, “हामीले विश्वका ठूला अस्पतालमा कामको अनुभव लिएका चिकित्सकसँग सम्झौता गरिरहेका छौँ ।” गुणस्तरमा कमी हुन नदिने गरी एक सय शय्याको आधुनिक अस्पताल निर्माण गरिएको हो ।
क्यान्सरका बिरामी उपचारका लागि भारतलगायतका अन्य देश जाने गर्दछन् । अत्याधुनिक उपकरण रेडिएसनका लागि जडान गरिएको छ । उहाँको भनाइमा यो उपकरणले दैनिक एक सय जनासम्मलाई रेडिएसन गर्न सक्दछ । रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको छ । ट्रियुबिम मोडलको भेरिएन कम्पनीको लिन्याक उपकरण आधुनिक प्रविधिको हो ।
चितवन मेडिकल कलेजसँगै छ तले ४८ हजार स्क्वायर फिटको भवनमा बङ्करसहितको क्यान्सर अस्पताल निर्माण गरिएको छ । इन्स्टिच्यूटमा रेडिएसन सञ्चालनका लागि अन्तिम तयारीमा रहनु भएका रेडिएसन अङ्कोलोजिष्ट डा सुवास ठाकुरले रेडिएसन उपकरणभित्र ६डि काउज र हाइपर आर्च रहेको जनाउँदै यसले टाउकोभित्रको ट्युमरलाई शल्यक्रिया बिना नष्ट गर्ने बताउनुभयो । यो रेडियो सर्जरी रेडिएसन प्रविधिबाट नेपालमा पहिलो पटक उपचार गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी ब्रेकी थेरापीमार्फत शरीरभित्र उपकरण राखेर रेडियो एक्टिभ सोर्स प्रयोग गरेर क्यान्सर कोष मार्ने प्रविधि पनि यहाँ ल्याइँदै छ । पाठेघरको क्यान्सरमा यो प्रविधिको उपचार बढी हुने गर्दछ । एसबिआरटी प्रविधिमार्फत उपचार भइरहेको बिरामीको ट्युमर प्रत्यक्ष हेरेर आवश्यक थप मात्रा प्रयोग गरी उपचार गर्न सकिने उहाँ बताउनुहुन्छ ।
भारतसहितका विभिन्न देशका विज्ञहरुसँग परामर्श र त्यहाँका जनशक्ति झिकाएर इन्स्टिच्युटको निर्माणदेखि नै काम गरिएको हो । १४ वर्षअघि स्थापना भएको चितवन मेडिकल कलेजमा हाल वार्षिक तीन लाख ५० हजारभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको छ । नेपालभरि र भारतीय बिरामी पनि यहाँ उपचार गर्न आउने गर्दछन् ।