हेटौंडामा ठोक्किए पाँच वटा गाडी, १५ जना घाइते

मकवानपुर : मकवानपुरको हेटौंडा मा पाँच वटा सवारीसाधन एक आपसमा ठोक्किएका छन् ।

हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्गमा स्कुल बस, ट्रक, ट्यांकर, कार र लरी ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा विद्यार्थीहरूसहित १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनीहरूको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य नै रहेको प्रहरीले जनाएको छ ।

कार्कीका अनुसार सुरूमा ना १ क ५१२३ रिलायन्स स्कुलको बसलाई पछाडिबाट ना ५ ख ६२५४ नम्बरको ट्रकले ठक्कर दिएको थियो । फेरि सोही ट्रकले गएर लु १ क ७३७० नम्बरको ट्यांकरलाई ठक्कर दिएको थियो । त्यस ट्यांकरले बा ७ च ९६०४ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

त्यस्तै ट्रकले फेरि गएर सडकमा रोकिराखेको प्रदेश २–०३–००१–ख २५०६ नम्बरको लरीलाई ठक्कर दिएको हो । दुर्घटनामा धेरै ठूलो क्षति नभएको र घटनाबारे थप अनुसन्‍धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *