कुहिने फोहोर साउन अन्तिम सातादेखि काठमाडौंमै व्यवस्थापन हुने
काठमाडौं : साउन अन्तिम सातादेखि कुहिने फोहोर काठमाडौंमै व्यवस्थापन शुरु हुने भएको छ ।
काठमाडौं महानगरपालिकाले कुहिने फोहोरलाई उपत्यकामा नै व्यवस्थापन गर्न कीर्तिपुरमा काम अघि बढाउने भएको हो । त्यसका लागि महानगरले पचास रोपनी जग्गा प्राप्त गरेको छ ।
उक्त स्थानमा अहिले दैनिक ४० हजार किलो त्यस्ता फोहोरको व्यवस्थापन गरी मल उत्पादन गर्ने लक्ष्य महानगरको रहेको छ । उत्पादित मल सहुलियत दरमा बिक्री गर्ने तयारी महानगरको छ ।
महानगरले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहरको फरक–फरक तरिकाबाट व्यवस्थापनको काम पनि सुरु गरिसकेको छ । फोहरमैला व्यवस्थापन ऐन विसं २०६८ मा फोहरको वर्गीकरणको प्रबन्ध गरिएको छ ।
सबै किसिमका फोहोर बञ्चरेडाँडा पुर्याउँदा पटक–पटक समस्या आएकाले प्रभावकारीरूपमा फोहोरको दीर्घ समाधानका लागी महानगरले चन्द्रागिरि, दक्षिणकाली, नागार्जुन, तारकेश्वर र उपत्यका बाहिर बनेपासम्म पनि जग्गा खोज्ने काम भइरहेको जनाएको छ ।
जाइकाको सहयोगमा दुई वर्षका लागि भनेर विसं २०६२ मा काठमाडौं उपत्यकाको फोहर नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलमा फ्याँक्न सुरु गरिएको थियो । सिसडोलमा चार सय ३२ रोपनी जग्गामा फोहर फालिँदै आएको थियो । बञ्चरेडाँडामा फोहर व्यवस्थापनका लागि भने एक हजार सात सय ९२ रोपनी क्षेत्र छुट्याइएको छ ।
