दार्चुलामा फस्टायो स्याउ उत्पादन, बजार जान नसक्दा किसान चिन्तित्

दार्चुला : दार्चुलामा यो वर्ष स्याउ उत्पादन फस्टाएको छ । स्याउ जोन क्षेत्र घोषणा गरेको अपी हिमाल, ब्यास, नौगाड गाउँपालिकामा स्याउ उत्पादन फस्टाएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोनका अनुसार जिल्लाभरि दुई सय ४९ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ ।

गाउँगाउँमा स्याउँ उत्पादन राम्रो भएको छ । केही समयपछि स्याउ बजारमा आउने अवस्थामा पुगेको छ । स्याउको हरेक बोटमा लटरम्म फलेका छन् । अहिले सदरमुकाम खलङ्गामा भारतबाट आयात हुने स्याउ दुई सय ५० प्रतिकेजी पुगेको छ । तर जिल्लाभरि उत्पादन हुने स्याउ सदरमुकामसम्म ल्याउन किसानलाई बाटो नहुँदा समस्या छ । सडक सञ्जाल नजोडिएको कारण पनि स्याउ बजारमा ल्याएर बिक्री गर्न सकिने अवस्था छैन ।

दार्चुला ब्यासको छाङ्गरु तथा गागामा हजारौं बिरुवा स्याउ लगाइएका थियो । अहिले बोटमा राम्रो फल लागेको छ । तर यहाँ उत्पादन भएका स्याउ बजारसम्म ल्याउन नेपालतिर बाटो नहुँदा किसान मर्कामा परेका छन् । स्याउ जोन दार्चुलाका कार्यालय प्रमुख विष्णुप्रसाद ओझाका अनुसार हरेक वर्ष स्याउ उत्पादन क्षेत्र बढ्दै गएको छ । किसानले उत्पादन बढाउँदै लगेका छन् । किसानले उत्पादन गरेको स्याउ बजारसम्म ल्याउन भने सकिरहेका छैनन् ।

दुर्गम क्षेत्रमा स्याउ उत्पादन भइरहेको छ । तर सडक पहुँच नपुगेकै कारण किसानले उत्पादन गरेको स्याउले बजार पाउन नसकेको ओझाको भनाइ छ ।

जिल्लामा वार्षिक एक हजारभन्दा बढी टन स्याउ उत्पादन हुने गरेको छ । जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा नौ सय १० मेट्रिक टन र ०७७/७८ मा एक हजार दुई सय १५ मेट्रिक टन स्याउ उत्पादन भएको कार्यालय प्रमुख ओझाले बताउनुभयो ।

जिल्लामा गत वर्ष मात्र स्याउ जोन कार्यालयले ६ हजार पाँच सय बोट स्याउका बिरुवा किसानलाई वितरण गरेको थियो । यहाँको मौसममा सुहाउँदो इटाली, गाला फुजी रोयल, डेलिसियस, गोल्डन डेलिसियस जातका स्याउका उत्पादन गरिएका छन् ।