भोजपुरका किसान चिराइतो खेतीप्रति आकर्षित
भोजपुर : भोजपुरका किसान चिराइतो खेतीप्रति आकर्षित भएका छन् । बहुउपयोगी जडीबुटी चिराइतोबाट राम्रो आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् ।
चिराइतो बिक्रीबाट किसानले वार्षीक रु छ देखि आठ लाखसम्म आम्दानी लिने गरेका छन् । यहाँका किसानले आलु र मकै फल्ने बारीमा व्यावसायिक रुपमा चिराइतोको खेती गर्न थालेका छन् ।
एक हजार ५ सय मिटरदेखि दुई हजार ५ सय मिटरसम्मको उचाइको हावापानीमा चिराइतो खेती राम्रोसँग फस्टाउने भएकाले यहाँको माथिल्लो भेगका अधिकांश मानिसले यसको खेती गरिरहेका छन् ।
टेम्केमैयुङ गाउँपालिका– १ तिम्माका करिब ६०÷७० किसानले चिराइतोको व्यावसायिक खेती गर्दै आएका छन् । लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतो राम्रो उत्पादन हुँदै आएको र यसबाट आलु तथा मकैबाट भन्दा राम्रो आम्दानी हुने किसानको भनाइ छ ।
आठ वर्षदेखि चिराइतोको व्यावसायिक खेती गर्दै आउनुभएका किसान प्रेम बस्नेतले गतवर्ष चिराइतो बिक्रीबाट रु छ लाख ५० हजार आम्दानी भएको बताउनुभयो ।
चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा सङ्कलन गर्न योग्य हुन्छ । चिराइतोले आलु र मकैभन्दा अलि ढिलो आम्दानी दिन्छ ।
किसानले चिराइतोलाई असोज, कात्तिक महिनामा सङ्कलन गर्ने गर्दछन् ।
गत वर्ष मूल्य वृद्धि भएका कारण धेरै किसानमा चिराइतो खेतीमा मोह बढेको देखिन्छ ।
ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेकोलगायत रोगमा चिराइतो प्रयोग गर्न सकिने किसानहरुको भनाइ छ । यसको पात, डाँठ, जरालगायत सम्पूर्ण भाग नै प्रयोग गर्न सकिन्छ ।
चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात हुने गरेको छ । भोजपुरमा चिराइतोसँगै सतुवा, तेजपत्ता, लोठसल्ला, खिरौले, टिमुरलगायत जडीबुटीको पनि खेती विस्तार भइरहेको छ ।
