महाअभियोग सिफारिस समितिको बैठक सिंहदरबारमा बस्दै
काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज बस्ने भएको छ ।
महाभियोगमाथि अध्ययन गर्न गठित समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार महाअभियोग सिफारिस समितिको बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।
१ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो । २९ फागुनमा प्रतिनिधि सभामा पेस भएको महाअभियोग प्रस्तावमाथि सैद्धान्तिक छलफल गरेर २२ साउनमा महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।
समितिका सदस्यका अनुसार आज बस्ने बैठकको एजेण्डा समितिको आन्तरिक कार्यविधि निर्माण र पारित गर्ने छ ।
बुधबारबाट निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगका सम्बन्धमा प्रारम्भिक अध्ययन सुरु हुनेछ ।
समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदीलगाएतका सदस्यहरु रहेका छन् ।
