व्यवसायी भन्छन् : भोजपुरे खुकुरीको माग धान्नै मुस्किल

भोजपुर : बजारमा भोजपुरे खुकुरीको माग धान्न मुस्किल परेका छन । दक्ष कालीगढको अभावमा उत्पादन कम हुँदा भोजपुरे खुकुरीको माग धान्न समस्या भएको हो ।

पेसा, व्यवसाय पुस्तान्तरण नहुँदा संरक्षणको अभावले कालीगढ लोप हुने अवस्थामा पुगेपछि खुकुरी उत्पादनमा कमी आएको छ । स्थानीय र बाहिरी जिल्लासँगै अन्तर्राष्ट्रिय बजारसम्म यसको माग हुने भए पनि माग अनुसारको खुकुरी उत्पादन हुन नसकेको व्यवसायीहरु बताउँछन् ।

उद्योगबाट भोजपुरे, सिरुपाते र चित्लाङले कोथीमोडा लगायतका खुकुरी बन्ने गरेका छन् । यस्ता खुकरी विश्व बजारमासमेत प्रख्यात छन् । यहाँ उत्पादन भएका खुकुरी आकार अनुसार न्यूनतम रु एक हजारदेखि अधिकतम दश हजारसम्म पर्छ ।

बाहिर जिल्लाबाट दुई/चार सय खुकुरीको माग आउने भए पनि धेरै माग भएको खण्डमा धान्न समस्या हुने रञ्जीता खुकुरी उद्योगका सञ्चालक गणेश गजमेरले बताउनुभयो ।

विगतका वर्षमा धेरै कालीगढ भए पनि पछिल्लो समयमा आएर व्यावसायिक रुपमा यो काम गर्ने मानिसको सङ्ख्या न्यून हुँदै गएको छ । बढी मेहनत गर्नुपर्ने साथै व्यवसाय गर्नको लागि आवश्यक हुने कच्चापदार्थ अभावले नयाँ पुस्तामा यसप्रति मोह कम भएको कालीगढ हर्कबहादुर विश्वकर्माले बताउनुभयो ।

पेसा लोप हुनबाट बचाउन राज्यले प्राथमिकता दिनुपर्ने विश्वकर्माको भनाई छ ।

स्थानीय सरकार सञ्चालनमा आए पनि प्रोत्साहनमूलक सहयोग नपाएको कालीगढ प्रेमकुमार लुवारले बताउनुभयो । व्यवसाय सञ्चालन गर्न स्थानीयस्तरमा पाउने कच्चा पदार्थको अभाव रहेको उहाँको भनाइ छ ।

लुवारका अनुसार दैनिक कामकाजको लागि चाहिने, कोइला, बिँड, दापका लागि चाहिने काठ आदिको समस्या छ । आफूहरुले उत्पादन गरेका खुकुरीले पनि मेहनत अनुसारको मूल्य पाउन नसकेको कालीगढको भनाइ छ ।

राज्यले उचित वातावरणसँगै साना तथा मझौला उद्योगलाई प्राथमिकता नदिँदा व्यवसाय सङ्कटमा परेको उद्योग सञ्चालकको भनाइ छ ।

कालीगढ पेसालाई बचाइ राख्नको लागि खुकुरी बनाउने लगायतका तालिम सञ्चालन गरिए पनि युवा शक्ति विदेश जाने लहरले समस्या भएको स्थानीय खुकुरी उद्योग सञ्चालक हीरा श्रेष्ठ बताउनुहुन्छ । ‘‘खुकुरीको स्थानीयस्तरमैे माग बढी छ’’, व्यवसायी श्रेष्ठले भन्नुभयो,‘‘गाउँघरमा परम्परागत रुपमा गरिने पेसा धेरैले छाडी सके । सदरमुकाममा उत्पादन भएका खुकुरी गाउँतिर पठाउनुपर्ने अवस्था छ । बाहिरबाट आएको माग पूरा गर्न सकिएको छैन् । यही अवस्था रहेमा पेसालाई जोगाएर अर्को पुस्तामा लैजान नै समस्या छ । भोजपुरे खुकुरी नै सङ्कटमा पर्ने अवस्था छ ।’’