काठमाडौंमा सामुहिक पञ्चदान

काठमाडौं : उपत्यकाका स्थानीय नेवाः बौद्ध समुदायले हरेक वर्ष मनाउँदै आएको पञ्चदान पर्व आज विभिन्न स्थानमा दान धर्म कार्य गरी मनाइयो ।

बुद्ध धर्ममा अत्यन्त महत्व दिइने दान कार्यलाई उपत्यकाका नेवाः बौद्ध समुदायले एक संस्कृतिकै रुपमा मनाउने गर्दछन् जसलाई पञ्चदान पर्व नाम दिइएको छ ।

पञ्चदान पर्वमा नेवाः समाजको बौद्ध समुदाय अन्तर्गत रहेका शाक्य, वज्राचार्य कुलपुत्र कुलपुत्रीहरुलाई दान प्रदान गर्ने परम्परा रहेको छ । बौद्ध समुदायका शाक्य, वज्राचार्य लगायत तुलाधर, महर्जन, मानन्धर आदि जातिले उक्त दान प्रदान गर्दछन् ।

यो पञ्चदानमा दक्षिणा सहित धान, चामल जस्ता अन्न दान गर्ने चलन रहेको छ । त्यस्तै मास, मुंगी जस्ता गेडागुडी पनि दान गर्ने गरिन्छ ।

शाक्य, वज्राचार्य समुदायले आजको दिन कम्तीमा पनि सात घरमा अनिवार्य रुपमा पञ्चदान ग्रहण गर्नुपर्ने मान्यता पनि रहिआएको छ ।

दान प्रदान गर्नाले मानिसको मनमा त्यागको भावना उत्पन्न हुने र त्यागको भावनाले मैत्री भाव विकास भई समाजमा मैत्रीपूर्ण वातावरणको सिर्जना हुने कुरा राज गुर्जु श्री मञ्जुश्रीरत्न वज्राचार्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘बुद्ध धर्ममा दानको महिमा अपार छ । दानको अभ्यासबाट समाजमा शान्ति स्थापना गर्न पञ्चदानको यो परम्परा शुरु गरिएको पाइन्छ ।’

यसै क्रममा सामुहिक पञ्चदान कार्यक्रम समितिले आज काठमाडौंको ठमेलबाट सामुहिक पञ्चदान ग्रहण गर्ने कार्यक्रम आयोजना ग¥यो । समितिले गत केही वर्ष अघिदेखि विभिन्न स्थानमा गई सामुहिक रुपमा पञ्चदान ग्रहण गर्ने कार्यक्रम चलाउँदै आइरहेको छ ।

यसरी सामुहिक रुपमा ग्रहण गरिएको पञ्चदानबाट उठेको नगद र अन्न सबै बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण भइरहेको नेपाली शैलीको वज्रयानी विहारलाई सहयोग स्वरुप प्रदान गर्ने कार्यक्रम रहेको कुरा नेपाल वज्रयानी बौद्ध धर्म संघका अध्यक्ष प्रा.डा. नरेशमान वज्राचार्यले बताउनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘हामीले वि.सं. २०६९ सालदेखि यसरी लुम्बिनीको वज्रयानी विहार निर्माणलाई सहयोग पु¥याउन सामुहिक पञ्चदान कार्यक्रम आयोजना गर्दै आइरहेका छौँ । अहिले विश्वलाई नै देखाउन लायक भइसकेको लुम्बिनीस्थित वज्रयानी विहारको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ ।’

लुम्बिनीमा निर्माण भइरहेको उक्त विहार लुम्बिनी क्षेत्रमा निर्माण भएको एउटै मात्र नेपाली शैलीको विहार हो । उक्त विहार निर्माणको लागि सामुहिक पञ्चदान लगायत अन्य विभिन्न स्रोतबाट प्राप्त आर्थिक सहयोगको उपयोग गरिएको थियो ।
काठमाडौं लगायत भक्तपुर र कीर्तिपुरमा श्रावणकृष्ण त्रियोदशीका दिन पञ्चदान मनाइन्छ भने ललितपुरमा त्योभन्दा अघि श्रावणकृष्ण अष्टमीका दिन पञ्चदान मनाउने परम्परा रहँदै आएको छ ।

काठमाडौंमा पञ्चदान पर्वका दिन दान प्रदान गर्न ताम्राकार, प्रजापति आदि समुदायले छुट्टै गुठी समेत सञ्चालन गर्दै आइरहेको देखिन्छ । यस मध्ये मरु टोलको काष्ठमण्डपमै बसी पञ्चदान दिनुपर्ने स्थानीय ताम्राकार समाजको तः चतं गुठी विशेष महत्वको रहँदै आएको छ ।