दुर्लभ घडियाल संरक्षणका लागि कैलालीमा घडियाल उत्सव
कैलाली : दुर्लभ घडियाल गोही संरक्षणका लागि कैलालीको टीकापुर–७ बैदीस्थित ढुङ्गाना टोलमा प्रथम घडियाल उत्सव आयोजना गरिएकोे छ ।
दुर्लभ घडियाल गोहीको संरक्षणसम्बन्धी सचेतना फैलाउन, स्थानीय बासिन्दा र स्थानीय सरकारलाई जिम्मेवार बनाउन उत्सव आयोजना गरिएको हो ।
टीकापुर नगर प्रमुख रामलाल डगौरा थारूले महोत्सवको शुभारम्भ गर्दै डल्फिन तथा जलचर संरक्षणका लागि नगरपालिकाबाट सक्दो सहयोग रहने बताउनुभयो ।
नगर उपप्रमुख खडकबहादुर शाहले डल्फिन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सबै एकमत रहेको जनाउँदै नगरपालिका मात्रैको बजेटले सम्भव नभएकाले सबैले पहल र प्रयास गर्न आवश्यक रहेको बताउनुभयो ।
डिभिजन वन पहलमानपुर कार्यालयका वन अधिकृत गोकुल रिजालले जलचर संरक्षणका लागि प्रदेश सरकारको प्रतिनिधिका रूपमा डिभिजन वन कार्यालयबाट हुने सबैखाले सहयोग गर्ने बताउनुभयो ।
डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले दुई दशकदेखि आफूसहितका युवा स्थानीयस्तरमा संरक्षणका लागि काम गर्दै आएको बताउँदै अब सरकारको साथ चाहिएको बताउनुभयो ।
डल्फिन संरक्षण क्षेत्रसमेत रहेको टीकापुर नगरपालिका–७, भजनी नगरपालिका–८ र ३ स्थित घडियाल गोही पाइने गरेका छन । आजभोलि मोहना, पथरैया, काँढा नदीको दोभानमा दुई दर्जन बढी घडियाल गोही देखिने गरेका छन् ।
कार्यक्रम डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालले आयोजना गरेको हो । नदीमा पानी जलचर संरक्षणका लागि यहाँ साताव्यापीरूपमा विभिन्न कार्यक्रम गरिने भएका छन् ।
सात दिनसम्म यहाँ डल्फिन अवलोकन, ओत संरक्षणसम्बन्धी कार्यक्रम, चरा अवलोकन, सरसफाइ, गिद्द सचेतना दिवस, वत्तृmत्वकला प्रतियोगिता, वृक्षरोपणलगायतका कार्यक्रम गरिने अध्यक्ष ढुङ्गानाले जानकारी दिनुभयो ।
