आज सुन र चाँदीको बन्चरोले इन्द्रजात्रा यःसिंको लागि रुख काटिने

काठमाडाैं : इन्द्रजात्रामा उठाइने यःसिं (लिङ्गो) का लागि आवश्यक रुख कटान गर्न केन्द्रीय मानन्धर संघको टोली आज नालातर्फ प्रस्थान गर्दैछ । सांस्कृतिक भाषामा यसलाई वन यात्रा भनिन्छ ।

आज सोमवार बिहान ९ः१७ बजे वन यात्राको साइत निकालिएको थियो । सोही साइतमा हनुमानढोका दरवारभित्रको नासः चुकबाट वन यात्रामा जाने टोलीका सदस्यहरुलाई टाउकोमा सेतो फित्ता गुथेर टीका लगाई विदा गरिएको थियो ।

इन्द्रजात्रामा यःसिं उठाउने र त्यसको लागि आवश्यक कार्य गर्ने जिम्मेवारी मानन्धर समुदायलाई दिइएको छ । त्यसको संयोजक केन्द्रीय मानन्धर संघले गर्दै आएको छ ।

मानन्धर संघका महासचिव गजेन्द्र मानन्धरका अनुसार वन यात्राको साइत विहान निकालिएको भए पनि नाला प्रस्थान गर्ने कार्य भने आज साँझ मात्रै हुनेछ । पहिले पहिले हिँडेर नाला पुग्नुपर्ने भएकोले बिहानको साइत निकालिएको हो । अहिले गाडीबाट जान मिल्ने भएकोले साइत बिहानको निकाले पनि प्रस्थान भने साँझ मात्रै गर्ने गरिन्छ ।

यो टोलीले नालाको यःसिंगुँ नामक वनमा गई यःसिंको लागि रुख काट्ने गर्छ । वन प्रस्थान गर्दा साथमा एउटा कालो बोको र गुर्जुको पल्टन पनि लिएर जान्छ । आजै बेलुकी यःसिंगुँमा लिङ्गोको लागि छानिएको रुखमा उक्त बोकाको बलि दिइन्छ । त्यसपछि वनमा क्षमा पूजा हुन्छ । रुख काट्नु अघि उक्त रुखलाई गुर्जुको पल्टनले सलामी चढाउने गरिन्छ । सलामी दिँदा सेनाको भरुवा बन्दूकबाट तोप पनि पड्काइन्छ । त्यसपछि रुखलाई लुँपा (सुनको बन्चरो) र वहःपा (चाँदीको बन्चरो) ले छुवाएर चिन्हो राखिन्छ । त्यही चिन्हो राखिएको ठाउँमा फलामको बन्चरोले हानेर रुख काट्न शुरु गरिन्छ ।

काटिएको रुखलाई नालादेखि काठमाडौंसम्मै तानेर ल्याउने गरिन्छ । काठमाडौं ल्याइसकेपछि यसलाई भोटाहिटीमा चार दिनसम्म सुताएर राख्ने गरिन्छ । यःसिंको यो रुख राखिने भोटाहिटीको उक्त स्थान मल्लकालीन काठमाडौं नगर प्रवेश गर्ने सीमा क्षेत्र हो ।

भाद्र १९ गते काया अष्टमिका दिन बिहान ७ः२४ गतेको साइतमा उक्त लिङ्गोलाई तानेर हनुमानढोका पु¥याइन्छ । यसलाई यःसिंको नगर प्रवेश भनिन्छ ।

यो वर्ष भाद्र २२ गते विहान ७ः१७ बजे यःसिं उठाउने साइत निकालिएको छ । केन्द्रीय मानन्धर संघको पहलमा यःसिं उठाइसकेपछि यो वर्षको इन्द्रजात्रा विधिवत् रुपमा शुरु भएको मानिन्छ ।

२२ गते उठाइएको यःसिं भाद्र २९ गते बेलुकी ७ः३३ बजे ढालिन्छ । यःसिं ढालेपछि यो वर्षको इन्द्रजात्रा समापन भएको मानिन्छ । ढालिएको यःसिं बागमती र बिष्णुमतीको दोभान टेकुमा लगेर सेलाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *