नेपालले दियो केन्यालाई २३१ रनको लक्ष्य

काठमाडौं : दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले केन्यालाई दुई सय ३१ रनको लक्ष्य दिएको छ । केन्याको नैरोवीस्थित जिमखाना मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर दुई सय ३० रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ७८ रनको अद्र्धशतकीय पारी खेले । उनले ९५ बल खेल्दै सात चौका हाने । यस्तै देव खनालले ३७, सोमपाल कामीले २६, ज्ञानेन्द्र मल्ले २५, वसिर अहमदले १७, आदिल अन्सारीले १४ र करण केसीले ११ रनको योगदान दिए ।

बलिङतर्फ केन्याका लागि नेहमिह ओढियाम्बो, शेम एन्गोचे र विराज पटेलले दुई दुई विकेट लिए ।

अहिले केन्याले जवाफी ब्याटिङ गरिरहेको छ । यसअघि नेपालले केन्यासित शुक्रबार पहिलो एकदिवसीय खेल खेलेको थियो । उक्त खेलमा नेपाल सात विकेटले विजयी भएको थियोे ।