नुवाकोटमा सौर्य फार्मबाट २५ मेगावाट विद्युत् उत्पादन

नुवाकोट : नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको देशकै ठूलो सोलार फार्म (प्लान्ट) बाट २५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ ।

विसं २०७५ वैशाख १४ गते शिलान्यास गरिएको फार्मबाट १ वर्षभित्र काम सम्पन्न गर्ने भनेर साढे तीन वर्षपछि लक्ष्यअनुसार २५ मेगावाट विद्युतको परीक्षण उत्पादन भइरहेको आयोजनाका प्रमुखले जानकारी दिनुभएको हो ।

विभिन्न सात ब्लकमा स्थापना गरिएका सौर्य फार्मबाट सुरु भएको परीक्षण उत्पादन सफल भएको छ ।

फार्मबाट उत्पादित विद्युत् विदुर नगरपालिका–६ स्थित देवीघाट जलविद्युत् केन्द्रमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सौर्य फार्म विदुर–६ र १२ मा पर्दछ ।

विसं २०७४ जेठ ३ मा सम्झौता गरिएको आयोजनाको शिलान्यास विसं २०७५ वैशाख १४ मा गरिएको थियो ।

सोलार आयोजनाबाट निर्माण गरेको ३३/६६ केभी २५ एमभिए क्षमताको सब–स्टेशनबाट अपग्रेड गरेर देवीघाट विद्युत्गृहको सबस्टेशनसम्म भूमिगत प्रसारण लाइनमार्फत पुर्याएर त्यहाँबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

सौर्य प्यानलबाट उत्पादन हुने विद्युत् डिसी (डाइरेक्ट करेन्ट)बाट एसी (अल्टरनेट करेन्ट)मा रूपान्तरण गर्दा सोही परिणामको प्रयोगयुक्त विद्युत् उत्पादन भइरहेको छ ।