पोखरा–दुबई उडान : एक महिनामा ६ हजार ३६२ यात्रुले लिए सेवा

कास्की, ६ कात्तिक । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेको फ्लाइ दुबईले आज एक महिना पूरा गरेको छ । गत असोज ७ गतेदेखि पोखरा–दुबई रुटमा नियमित उडान थालेको कम्पनीले पहिलो महिनामै छ हजारभन्दा बढी यात्रुलाई सेवा दिएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार एक महिनामा ३० वटा उडान सञ्चालन भए । ती उडानमार्फत दुबईबाट पोखरा आउने ४ हजार ५२१ र पोखराबाट दुबई जाने १ हजार ८४१ गरी कुल ६ हजार ३६२ जना यात्रुले सेवा लिएका छन् । सुरुआती एक महिनाको प्रगति उत्साहजनक रहेको उनले बताए ।

“दशैँ र तिहार जस्ता नेपालीका ठूला चाडका कारण दुबईबाट आउने यात्रुको संख्या बढिरहेको छ, यहाँबाट जानेहरू पनि बढ्दै गएका छन्,” महाप्रबन्धक निरौलाले भने, “सबैको साथ र प्रयासले पोखराबाट अन्तर्राष्ट्रिय उडान नियमित र दीर्घकालीन हुने विश्वास गर्न सकिन्छ । यसका लागि सरकारी तथा निजी क्षेत्रले मिलेर प्रवर्द्धनात्मक काम गर्नुपर्छ ।”

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पनि नियमित उडानको पहिलो महिनाको उपलब्धि उत्साहजनक रहेको बताउँदै पोखराबाट दुबई जाने यात्रु बढाउनुपर्नेमा जोड दिएका छन् । पोखरा–दुबई उडानलाई निरन्तरता दिन सन् २०२७ को अक्टोबरसम्म टिकट बुकिङ खुला गरिएकोमा उनले फ्लाइ दुबईको व्यवस्थापन टोलीलाई धन्यवाद दिए ।

“दुबईबाट पोखरा आउने यात्रुको संख्या राम्रो भए पनि पोखराबाट जानेको संख्या बढाउन सकियो भने उडान थप प्रभावकारी र दिगो बन्न सक्छ । पोखरा तथा गण्डकी प्रदेशका नागरिक, पर्यटन व्यवसायी, ट्राभल कम्पनी, होटल व्यवसायी, उद्योगी र निजी क्षेत्रलाई सम्भव भएसम्म पोखराबाटै अन्तर्राष्ट्रिय यात्रा गर्न हामीले आग्रह गरेका छौँ,” प्रमुख आचार्यले भने ।

उनले व्यक्तिगत, पारिवारिक, व्यावसायिक तथा संस्थागत भ्रमण पोखराबाटै सुरु गर्न र अन्तर्राष्ट्रिय गन्तव्यका लागि पोखराबाट भ्रमण प्याकेज सञ्चालन गर्न पनि अनुरोध गरे ।

फ्लाइ दुबई र यसको साझेदार वायुसेवा कम्पनी एमिरेट्समार्फत एउटै टिकटमा विश्वका ३०० भन्दा बढी गन्तव्यमा यात्रा गर्न सकिने सुविधा रहेको उल्लेख गर्दै प्रमुख आचार्यले दुबईमात्र नभई त्यहाँबाट जोडिने विश्वका विभिन्न सहरसम्मको यात्राका लागि पनि पोखरालाई प्रस्थानबिन्दु बनाउन आग्रह गरे ।

लामो समयपछि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएकाले विमानस्थलको उपयोग बढ्नुका साथै पर्यटन, व्यापार, रोजगारी र समग्र क्षेत्रीय आर्थिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

विसं २०७९ पुस १७ गते उद्घाटन गरिएको पोखरा विमानस्थलबाट लामो समयसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । कहिलेकाहीँ अन्तर्राष्ट्रिय चार्टर उडान हुनु बाहेक विमानस्थल आन्तरिक उडानमै सीमित थियो । फ्लाइ दुबईको उडानपछि अन्य विमान कम्पनी पनि पोखरामा उडान भर्न आकर्षित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *