तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम
काठमाडौँ, कार्तिक ८ । तनहुँमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालित तरकारी र धान जोन कार्यक्रमबाट खेतीको क्षेत्रफल विस्तार हुनुका साथै तीन हजार ८२७ किसान लाभान्वित भएका छन् ।
कार्यक्रम कार्यान्वयन इकाई गोरखाका वरिष्ठ कृषि विकास अधिकृत पूर्ण ढुङ्गानाका अनुसार तरकारी जोन सुरु भएयता २१८ हेक्टर र धान जोन सुरु भएयता ८५ हेक्टर क्षेत्रफल वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा पाँच सय पाँच हेक्टर क्षेत्रफलबाट सुरु गरिएको तरकारी जोन अहिले विस्तार भएर ७२३ हेक्टर पुगेको छ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा पाँच सय हेक्टर क्षेत्रफलबाट सुरु गरिएको धान जोन अहिले ५८५ हेक्टरमा विस्तार भएको छ ।
तरकारी खेतीलाई व्यावसायिक बनाउने उद्देश्यले आँबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिकामा तरकारी जोन कार्यक्रम सञ्चालन भइरहेको छ । यस कार्यक्रमअन्तर्गत दुई सहकारी, दुई कृषक समूह र ११ कृषि उद्यमी आबद्ध छन् । कार्यक्रमबाट हालसम्म एक हजार ९८९ जना लाभान्वित भएका छन् ।
त्यस्तै, धान जोन कार्यक्रम व्यास नगरपालिकाका वडा नं. ८, ९ र ११, भानु नगरपालिका तथा बन्दीपुर गाउँपालिका–१ मा सञ्चालन भइरहेको छ । यस कार्यक्रमअन्तर्गत दुई सहकारी, दुई कृषक समूह र १० कृषि उद्यमी आबद्ध छन् । धान जोनबाट हालसम्म एक हजार ८३८ जना लाभान्वित भएको वरिष्ठ कृषि विकास अधिकृत ढुङ्गानाले जानकारी दिनुभयो ।
तरकारी तथा धान खेतीलाई व्यावसायिक र उत्पादनमुखी बनाउने लक्ष्यसहित सञ्चालन गरिएका यी कार्यक्रमले खेतीको क्षेत्रफल विस्तार गर्न तथा किसान, सहकारी, कृषक समूह र कृषि उद्यमीलाई संगठित रूपमा कृषि उत्पादनमा संलग्न गराउन सहयोग पुर्याएको छ ।
तरकारी र धान जोन कार्यक्रममार्फत उत्पादन वृद्धि, व्यावसायिक खेतीको विकास तथा कृषि क्षेत्रमा आबद्ध जनशक्तिको सहभागिता बढाउने अपेक्षा गरिएको छ ।
