चिनियाँ नेता ली झान्शु काठमाडौँमा, द्विपक्षीय भेट सुरु
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शु नेपालको औपचारिक भ्रमणमा आज काठमाडौँ आइपुग्नुभएको छ । नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुले समकक्षी अग्नि सापकोटासँग शिष्टाचार भेट गर्नुभएको छ । उहाँहरुबिच संसद भवन नयाँ बानेश्वरस्थित तिलिचो भवनमा भेट भएको भएको हो ।
दिउँसो ३ बजे काठमाडौं ओर्लिएलगत्तै होलट सोल्टी पुगेर केही समय आराम गरेपछि लीले औपचारिक भेटघाट सुरू गर्नुभएको हो । शिष्टाचार भेट सकिएसँगै चिनियाँ प्रतिनिधिमण्डल र सभामुख सापकोटाबीच द्विपक्षीय भेट सुरु भएको हो । भेटमा संसदमा रहेका दलका प्रमुख सचेतक, सचेतक र नेपाल–चीनमैत्री संसदीय समूहको टोलीका सदस्यसमेत रहेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
आजै सभामुख सापकोटाले होटल सोल्टीमा अध्यक्ष ली र उहाँको प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रि भोजको आयोजना गर्नुहुनेछ । अध्यक्ष लीले यही भदौ ३० गतेसम्म गर्नुहुने चार दिने भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । यसैगरी उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । नेता लीले यस भ्रमणका क्रममा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुहुने कार्यक्रम छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि अध्यक्ष लीको भेटवार्ता हुनेछ । प्रतिनिधिमण्डलले नेपालको औपचारिक भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्नुहुने कार्यक्रम रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कनुहुने कार्यक्रम छ ।