जलवायु कार्य सप्ताह सुरु, पानी व्यवस्थापन र स्रोत बाँडफाँडमा उच्च राजनीतिक प्रतिबद्धता आवश्यक

जलवायु कार्य सप्ताह

काठमाडौँ, मङ्सिर ७ । काठमाडौँ महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा जोखिम व्यवस्थापनका लागि साताव्यापी जलवायु कार्य सप्ताह सुरु गरेको छ । मङ्सिर १३ गतेसम्म सञ्चालन हुने सप्ताहमा पानी व्यवस्थापन, जलवायु वित्त, ऊर्जा, खाद्य प्रणाली, नागरिक विज्ञान तथा जलवायु न्यायलगायत विषयमा छलफलसँगै समुदायको सहभागितामा कार्यमूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

राष्ट्रिय सभा गृहमा आइतबार आयोजित कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सप्ताहको शुभारम्भ गर्नुभयो । सोही अवसरमा महानगरपालिकाले ‘रिचार्ज काठमाडौँ’ अभियानसमेत सुरु गरेको छ ।

सात दिन सात विषयमा छलफल र कार्यमूलक कार्यक्रम, पहिलो दिन जलवायु गोलमेच र बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिको अनुभव आदानप्रदान

कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले काठमाडौँ महानगरपालिकाले अघि सारेको जलवायु परिवर्तनको असर न्यूनीकरणसम्बन्धी अभियानले स्थानीय तहको सबल नेतृत्व र जिम्मेवारीको सन्देश दिएको बताउनुभयो । रैथाने ज्ञान, सीप र प्रविधिको पुस्तान्तरण गर्दै काठमाडौँको मौलिकता तथा जीवन्तता संरक्षण गर्न पनि अभियानले योगदान पुर्‍याउने उहाँको विश्वास थियो ।

मुख्यमन्त्री थापाले महानगरपालिकाले उठाएको जलवायु परिवर्तनको साझा मुद्दामा प्रदेश सरकारको साथ रहने बताउनुभयो । यसका लागि नेपाल सरकारबाट समेत आवश्यक सहयोग र सहकार्य प्राप्त हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यवाहक प्रमुख डंगोलले जलवायु परिवर्तनको असर कुनै व्यक्ति, समुदाय वा भूगोलमा मात्र सीमित नरहने भएकाले विपद् प्रभावित क्षेत्रप्रति सबैको साझा जिम्मेवारी हुनुपर्ने बताउनुभयो । भोटेकोशीमा आएको बाढी होस् वा देशका अन्य स्थानमा हुने विपद्, त्यसको पीडा प्रभावित स्थानीय बासिन्दा र स्थानीय तहले मात्र नभई सबैले महसुस गर्नुपर्ने उहाँको भनाइ थियो ।

‘जलवायु परिवर्तनको असरले नछुने कोही हुँदैन । गल्ती जसले गरे पनि त्यसबाट उत्पन्न परिणाम सबैले भोग्नुपर्छ । यस्ता विपद्बाट आफू पनि बच्न र अरूलाई पनि बचाउन सकियोस् भनेर महानगरपालिकाका रूपमा मात्र होइन, पृथ्वीका जिम्मेवार नागरिकका हैसियतले पनि यो कार्यक्रम आयोजना गरेका हौँ,’ उहाँले भन्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले जलवायु परिवर्तनका चुनौती कुनै एक व्यक्ति वा संस्थाको प्रयासबाट मात्र समाधान गर्न नसकिने बताउनुभयो । तीनै तहका सरकारको प्रतिनिधित्व र विभिन्न क्षेत्रको सहभागितामा सहरस्तरीय समाधान खोज्ने उद्देश्यले सप्ताह आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । नेपालमा यस प्रकारको पहल पहिलो भएको उहाँको दाबी थियो ।

स्थानीय तहमा सामूहिक प्रयास र सहकार्यको थालनी गर्दै जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका उपाय कार्यान्वयन गर्नु सप्ताहको मुख्य उद्देश्य रहेको महानगरपालिकाले जनाएको छ । जलवायु चुनौतीबारे छलफलमा मात्र सीमित नभई तत्काल अपनाउनुपर्ने विज्ञानसम्मत उपाय समुदायको सहभागितामा कार्यान्वयन गर्ने साझा मञ्चका रूपमा कार्यक्रमलाई विकास गर्न खोजिएको हो ।

सप्ताहको पहिलो दिन जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि नीतिगत तथा राजनीतिक नेतृत्व तहमा उच्चस्तरीय संवाद गर्ने उद्देश्यले जलवायु गोलमेच आयोजना गरिएको थियो । महानगरपालिकाका सल्लाहकार एवं वातावरणविद् भूषण तुलाधरको सहजीकरणमा भएको छलफलमा विभिन्न स्थानीय तहका जनप्रतिनिधिले जलवायु परिवर्तन, सहरी उत्थानशीलता र साझा प्राथमिकताबारे धारणा राख्नुभएको थियो ।

गोलमेचमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारी, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी र मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन सहभागी हुनुहुन्थ्यो ।

गोलमेचले जलवायु संकटसँग जुध्न तत्काल पाँचवटा क्षेत्रमा सामूहिक प्रयास र उच्चस्तरीय राजनीतिक प्रतिबद्धता आवश्यक रहेको निष्कर्ष निकालेको वातावरणविद् तुलाधरले बताउनुभयो । उहाँका अनुसार पानीको व्यवस्थापन, स्रोतको बाँडफाँड, समन्वय तथा सहकार्य, जलवायु न्याय र क्षतिपूर्तिका लागि सुनुवाइ प्रणाली तथा दीर्घकालीन योजनालाई प्राथमिकतामा राख्नुपर्ने निष्कर्ष आएको छ ।

पानीको संकट हिमाल, पहाड, तराई, गाउँ र सहर सबै क्षेत्रमा देखिएकाले यसको व्यवस्थापनमा रैथाने ज्ञान तथा सीपसँगै आधुनिक प्रविधिको उपयोग गर्नुपर्ने गोलमेचको निष्कर्ष छ । त्यस्तै वित्तीय स्रोत, मानव पुँजी र अधिकारको उचित व्यवस्थापन, तीनै तहका सरकार तथा सरोकारवालाबीच समन्वय र साझेदारीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।

कार्यक्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैलाश तामाङ र आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष माचेङ तामाङले भोटेकोशी बाढीको अनुभव सुनाउनुभएको थियो । बाढीबाट प्रभावित स्थानीय समुदायको अवस्था, विपद्का कारण र त्यसको असरबारे उहाँहरूले अनुभव आदानप्रदान गर्नुभएको थियो ।

यसैगरी, महानगरपालिकाको वातावरणीय व्यवस्थापन, सरसफाइ तथा फोहर न्यूनीकरणका प्रयासबारे वातावरण निरीक्षक सृष्टि श्रेष्ठले प्रस्तुति दिनुभएको थियो । उहाँले विभिन्न क्षेत्रसँगको बहुपक्षीय साझेदारीमार्फत वातावरणीय सुधारका नतिजा हासिल गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।

इन्स्टिच्युसन अफ हिमालयन रिस्क रिडक्सनका कार्यकारी निर्देशक सुरज गौतमले जलवायु परिवर्तनको असर न्यूनीकरण कुनै एक सरकार वा पुस्ताको प्रयासबाट मात्र सम्भव नहुने बताउनुभयो । सरकारका सबै तह र समाजका सबै पक्ष एकै ठाउँमा आएर काम गर्नुपर्ने सन्देश सप्ताहले दिएको उहाँको भनाइ थियो ।

साताव्यापी कार्यक्रमअन्तर्गत दोस्रो दिन जलवायु वित्त, तेस्रो दिन नागरिक विज्ञान तथा सम्पदा र जलवायु परिवर्तनका असर, चौथो दिन ऊर्जा प्रणाली र जलवायु परिवर्तन तथा पाँचौँ दिन बालबालिका तथा युवा जलवायु कार्य दिवसका रूपमा कार्यक्रम सञ्चालन गरिनेछ । छैटौँ दिन खाद्य प्रणाली र जलवायु परिवर्तन तथा अन्तिम दिन नागरिक समाज, गैरसरकारी संस्था र अन्तरसरकारी संस्थाको दायित्वका विषयमा छलफल गरिने महानगरपालिकाले जनाएको छ ।

सप्ताहका क्रममा सार्वजनिक सहभागितामूलक कार्यक्रमसमेत सञ्चालन हुनेछन् । नेपाल प्रिमियर लिगसँगको जलवायु साझेदारीअन्तर्गत हरित रङ्गशाला, शून्य फोहर खेल दिवस र खेलमार्फत जलवायु सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिनेछ । त्यस्तै, साझा यातायातसँगको सहकार्यमा सार्वजनिक यातायातको प्रयोग प्रवर्द्धन, नागरिक विज्ञान तथा वायु प्रदूषण न्यूनीकरणसम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *