पूर्व आईजीपी दानबहादुर कार्कीको पुनर्बहालीसम्बन्धी रिटकाे सुनुवाइ सर्यो
काठमाडौं, ७ मङ्सिर । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मुद्दामा म्याद तामेल भएको वा नभएको विषयमा स्पष्टता नहुँदा सर्वोच्च अदालतमा सुनुवाइ सरेको छ ।
न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा मुद्दाको पेसी परेको हो । सर्वोच्च अदालतका प्रवक्ता अशोककुमार क्षेत्रीका अनुसार म्याद तामेलीको प्रतिवेदन तामेलदारले इजलासमा पेस गरेका छन् ।
यसअघि कार्कीलाई पुनर्बहाली गर्ने अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा विपक्षीहरूसँग छलफल गर्न अदालतले पेसी तोकेको थियो ।
कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र नवनियुक्त आईजीपी मनोजकुमार केसीलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।
यसअघि सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।
म्याद तामेलीसम्बन्धी पत्रमा पदको विवरण गलत उल्लेख भएपछि विपक्षीहरूले म्याद बुझ्न अस्वीकार गरेका थिए । सर्वोच्चले त्रुटि सच्याएर शुक्रबार पुनः सूचना पठाए पनि म्याद तामेली प्रक्रियामा ढिलाइ भएको थियो ।
सरकारले गत कात्तिक १८ गते कार्कीलाई आईजीपीबाट हटाएर मनोज केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो ।
