प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक बिक्रीमा रोक लगाउनुपर्नेमा जोड : प्रतिरोध बढ्दा जनस्वास्थ्य जोखिममा
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह
काठमाडौँ, मङ्सिर ७ । चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक औषधिको बिक्री तथा प्रयोग बढ्दै जाँदा औषधिको प्रभावकारिता घट्नुका साथै जनस्वास्थ्यमा गम्भीर जोखिम थपिँदै गएको छ । प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेजिस्टेन्स–एएमआर) नियन्त्रणका लागि औषधिको जथाभावी प्रयोग रोक्नेदेखि मानव, पशुपन्छी र वातावरणलाई समेट्ने एकीकृत उपाय अवलम्बन गर्न जनस्वास्थ्यविद्ले जोड दिएका छन् ।
काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहका अवसरमा जनस्वास्थ्य सरोकार ट्रष्टसँगको सहकार्यमा स्वास्थ्यकर्मीका लागि आयोजना गरेको सचेतना अभिमुखीकरणमा विज्ञहरूले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक बिक्री वितरणमा रोक लगाउन काठमाडौँ उपत्यकालाई एउटै प्रशासनिक संरचनाका रूपमा लिएर नियमन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिजैविक प्रतिरोध दिनानुदिन बढिरहेको छ । यसलाई अहिले नै नियन्त्रण गर्न नसके उपचार प्रक्रिया जटिल, महँगो र लामो हुने भएकाले तत्काल प्रभावकारी कदम चाल्नुपर्छ ।”
चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन गर्नु, भाइरल सङ्क्रमणमा यसको प्रयोग गर्नु, निर्धारित मात्रा र अवधिअनुसार औषधि सेवन नगर्नु तथा बाँकी औषधि पुनः प्रयोग गर्नु प्रतिरोध बढाउने प्रमुख कारण रहेको उहाँले बताउनुभयो ।
एन्टिबायोटिक ब्याक्टेरियाबाट हुने सङ्क्रमणको उपचारमा प्रयोग हुने औषधि हो । रुघाखोकी, इन्फ्लुएन्जा र भाइरल ज्वरो जस्ता भाइरसबाट हुने सङ्क्रमणमा यसले काम गर्दैन । तर जथाभावी प्रयोगका कारण औषधिप्रति संवेदनशील ब्याक्टेरिया नष्ट भए पनि प्रतिरोधी ब्याक्टेरिया जीवित रहने र फैलिने जोखिम बढ्छ ।
यो समस्या मानिसको शरीर औषधिको अभ्यस्त हुने नभई सूक्ष्मजीवले औषधिविरुद्ध प्रतिरोध क्षमता विकास गर्ने प्रक्रिया हो । प्रतिरोध बढ्दै जाँदा निमोनिया, रगत तथा मूत्रनलीको सङ्क्रमणजस्ता सामान्य उपचारबाट निको पार्न सकिने रोगसमेत जटिल बन्न सक्छन् । बिरामीले महँगा औषधि प्रयोग गर्नुपर्ने, अस्पतालमा लामो समय बस्नुपर्ने र मृत्युसमेत हुन सक्ने जोखिम बढ्छ । शल्यक्रिया, अङ्ग प्रत्यारोपण र क्यान्सर उपचारसमेत सङ्क्रमणको जोखिमका कारण थप जटिल बन्न सक्छन् ।
कार्यक्रममा जनस्वास्थ्य सरोकार ट्रष्टको अनुसन्धान केन्द्रकी वरिष्ठ माइक्रोबायोलोजिस्ट डा. बसुधा श्रेष्ठले ‘एन्टिमाइक्रोबियल प्रतिरोध, यसका परिणाम र नियन्त्रण’ तथा ‘नेपालमा एएमआर निगरानी र एन्टिबायोग्राम’ विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । औषधि सूचना केन्द्रका इञ्चार्ज त्रिलोचन पाण्डेले केन्द्रको भूमिका र सेवाबारे जानकारी गराउनुभएको थियो ।
विश्व स्वास्थ्य सङ्गठनको सन् २०२५ को प्रतिवेदनअनुसार सन् २०२३ मा परीक्षणबाट पुष्टि भएका ब्याक्टेरियाजन्य सङ्क्रमणमध्ये विश्वभर करिब छमध्ये एक सङ्क्रमण एन्टिबायोटिक प्रतिरोधी पाइएको थियो । नेपालमा सन् २०२१ मा प्रतिजैविक प्रतिरोधसँग प्रत्यक्ष सम्बन्धित चार हजार ७०७ जनाको मृत्यु भएको अनुमान छ । प्रतिरोधसँग सम्बन्धित अन्य कारणसमेत जोड्दा मृत्यु हुनेको अनुमानित सङ्ख्या १९ हजार ५७९ पुगेको छ । यी सङ्ख्या राष्ट्रिय रूपमा गणना गरिएका तथ्याङ्क नभई मोडेलमा आधारित अनुमान हुन् ।
प्रतिजैविक प्रतिरोध मानव स्वास्थ्यमा मात्र सीमित नभई पशुपन्छी पालन, कृषि, खाद्य उत्पादन तथा प्रशोधित नगरिएको फोहरपानीबाट समेत फैलिन सक्छ । त्यसैले मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणलाई एकीकृत रूपमा सम्बोधन गर्ने ‘एक स्वास्थ्य’ अवधारणा आवश्यक रहेको विज्ञहरूको भनाइ छ ।
नेपालले प्रतिरोध नियन्त्रणका लागि जनस्वास्थ्य सेवा ऐन, २०७५, राष्ट्रिय एन्टिमाइक्रोबियल उपचार निर्देशिका, २०२३ तथा सन् २०२४–२०२८ को राष्ट्रिय कार्ययोजना अघि बढाएको छ । तर नीति तथा योजनाको प्रभावकारी कार्यान्वयन, औषधिको बिक्री वितरणमा नियमन, प्रयोगशाला तथा निगरानी प्रणालीको विस्तार र जनचेतना अभिवृद्धि अझै आवश्यक देखिएको छ ।
कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले महानगरपालिकाको नेतृत्वमा सञ्चालन हुने कार्यक्रमबाट छिटो नतिजा निकाल्न सकिने बताउनुभयो । स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले स्वास्थ्यकर्मीबाट सुरु गरिएको सचेतना अभियान औषधि विक्रेता र उपभोक्तासम्म विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।
त्यसैगरी शिक्षा विभागका प्रमुख एवं शिक्षा स्वास्थ्य समितिका सदस्य सचिव नवराज ढकालले एएमआर नियन्त्रणसम्बन्धी विषयलाई विद्यालय शिक्षासँग जोडेर अघि बढाउने योजना सुनाउनुभयो । स्वास्थ्य महाशाखा प्रमुख नःली बज्राचार्य र एएमआरका फोकल पर्सन ऋषिप्रसाद भुषालले महानगरपालिकाले अवलम्बन गरेका सावधानी तथा नियन्त्रणका प्रयासबारे जानकारी गराउनुभएको थियो ।
प्रतिजैविक प्रतिरोध नियन्त्रणका लागि चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक प्रयोग नगर्ने, निर्धारित मात्रा र अवधिसम्म औषधि सेवन गर्ने, हातको सरसफाइमा ध्यान दिने, खोप लगाउने तथा सुरक्षित खानेपानी प्रयोग गर्ने बानी आवश्यक हुन्छ । पशुपन्छीमा समेत आवश्यकताअनुसार र विज्ञको सल्लाहमा मात्र औषधि प्रयोग गर्नुपर्छ ।
यस वर्षको विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह ‘वन हेल्थ, वन एक्सन : प्रिभेन्ट एएमआर नाउ’ नारासहित मनाइँदैछ । प्रतिरोध नियन्त्रणका लागि सरकार, स्वास्थ्यकर्मी, औषधि व्यवसायी, किसान र सर्वसाधारण सबैको साझा प्रयास आवश्यक रहेको विज्ञहरूले औँल्याएका छन् ।
