झापामा १२ अर्बको पेट्रोलियम पाइपलाइन र भण्डारण टर्मिनल निर्माण सुरु
झापा, ७ मङ्सिर । नेपाल र भारतबीचको ऊर्जा पूर्वाधार सहकार्यअन्तर्गत झापामा करिब १२ अर्ब रुपैयाँ लागतको पेट्रोलियम पाइपलाइन तथा भण्डारण टर्मिनल निर्माण सुरु भएको छ ।
नेपालको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका रूपमा रहेको ‘सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइन तथा ग्रिनफिल्ड टर्मिनल परियोजना’ को आइतबार संयुक्त रूपमा शिलान्यास गरिएको हो । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीबाट भर्चुअल माध्यममार्फत रिमोट थिचेर परियोजनाको शुभारम्भ गर्नुभएको थियो ।
भारतको शतप्रतिशत अनुदानमा बन्ने परियोजना साढे चार वर्षमा सम्पन्न गर्ने लक्ष्य
परियोजना प्रमुख सुरेन्द्र महतोका अनुसार नेपाल र भारत सरकारबीच भएको सरकार–सरकार (जीटुजी) सम्झौताअन्तर्गत भारतीय सरकारको शतप्रतिशत अनुदान तथा इन्डियन आयल कर्पोरेसन (आईओसी) को प्राविधिक सहयोगमा आयोजना निर्माण हुनेछ । करिब १२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको परियोजना निर्माण सुरु भएको मितिले ५४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
कुल ४९ दशमलव ६ किलोमिटर लम्बाइको पाइपलाइनमध्ये भारततर्फ ३५ किलोमिटर र नेपालतर्फ १४ दशमलव ६ किलोमिटर हुनेछ । भारतको सिलिगुढीस्थित आईओसीको टर्मिनलबाट सुरु हुने पाइपलाइन मेची पुलनजिकबाट नेपाल प्रवेश गरी मेचीनगर नगरपालिका–६, १० र ११ हुँदै वडा नं. १३ स्थित चारआलीमा निर्माण हुने टर्मिनलमा जोडिनेछ ।
परियोजनाका लागि नेपाल आयल निगमले काँकरभिट्टादेखि चारआलीसम्म पाइपलाइन बिछ्याउने मार्ग र भण्डारण टर्मिनलका लागि आवश्यक जग्गा व्यवस्थापन गरिसकेको छ । सरकारले विसं २०७४ मै चारआलीमा २३ बिघा तीन कट्ठा १३ धुर जग्गा व्यवस्थापन गरी फिल्ड कार्यालयसमेत सञ्चालनमा ल्याएको परियोजना प्रमुख महतोले जानकारी दिनुभयो ।
निगमले पूर्वसम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा जग्गा व्यवस्थापनसम्बन्धी प्रारम्भिक काम सम्पन्न गरिसकेको छ । अब आईओसीले पाइपलाइन बिछ्याउने र भण्डारण गृह निर्माणको काम अघि बढाउने जनाइएको छ ।
आयोजनाअन्तर्गत आठ इन्च व्यासका कार्बन स्टिल पाइप जमिनमुनि कम्तीमा एक दशमलव दुई मिटर गहिराइमा बिछ्याइनेछ । पाइपलाइनको सुरक्षा, सञ्चालन अनुगमन तथा सम्भावित चुहावट नियन्त्रणका लागि अत्याधुनिक स्काडा प्रणाली र फाइबर अप्टिक सेन्सिङ प्रविधि जडान गरिनेछ ।
चारआलीमा निर्माण हुने ग्रिनफिल्ड टर्मिनलको भण्डारण क्षमता ३८ हजार ८०० किलोलिटर रहने परियोजनाको फिल्ड कार्यालयका प्रशासन प्रमुख मनिष न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार टर्मिनलमा ३२ हजार २०० किलोलिटर डिजेल र छ हजार ६०० किलोलिटर पेट्रोल भण्डारण गर्न सकिनेछ ।
टर्मिनलमा आधुनिक ठाडा भण्डारण ट्याङ्की, एकैपटक आठवटा ट्याङ्करमा इन्धन भर्न सकिने लोडिङ सुविधा तथा दुईवटा अग्नि नियन्त्रण पानी-फोम ट्याङ्की प्रणाली निर्माण गरिनेछ । यसबाट इन्धन भण्डारण तथा ढुवानी व्यवस्थापन थप व्यवस्थित र सुरक्षित हुने अपेक्षा गरिएको छ ।
पाइपलाइन निर्माणका क्रममा मेची, निन्दा, हडिया र फुलबासालगायत नदी पार गर्नुपर्ने भएकाले नदीको प्राकृतिक बहाव र जलचरको पारिस्थितिक प्रणालीमा असर नपर्ने गरी होरिजन्टल डिरेक्सनल ड्रिलिङ (एचडीडी) प्रविधि प्रयोग गरिनेछ । यस प्रविधिबाट नदीको सतहभन्दा गहिराइमा पाइप बिछ्याइने भएकाले नदीको बहावमा अवरोध नपुग्ने परियोजनाले जनाएको छ ।
त्यसैगरी, टर्मिनल सञ्चालनका क्रममा निस्कने इन्धनको वाष्प पुनः इन्धनमा रूपान्तरण गरी प्रदूषण र इन्धनको नोक्सानी घटाउन भेपर रिकभरी सिस्टम जडान गरिनेछ । तेल मिसिएको पानी प्रशोधनका लागि आयल वाटर सेपरेटरसमेत राखिने परियोजनाले जनाएको छ ।
यस परियोजना निर्माणसम्बन्धी द्विपक्षीय सहमति विसं २०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा भएको थियो । त्यसपछि विसं २०८१ असोजमा नयाँदिल्लीमा नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र आईओसीका निर्देशक सेन्थिल कुमारबीच परियोजना निर्माणसम्बन्धी औपचारिक सम्झौतामा हस्ताक्षर भएको थियो । सोही सम्झौताअनुसार अहिले निर्माण कार्य अघि बढाइएको हो ।
