काठमाडौँमा १३८ वटा रिचार्ज पिट बनाइने : सरकारी कार्यालयलाई स्थान उपलब्ध गराउन कार्यवाहक प्रमुख सुनिता डंगोलको आग्रह
काठमाडौँ, मङ्सिर ७ । काठमाडौँ महानगरपालिकाले वर्षाको पानी जमिनमुनि पठाएर भूमिगत जलस्रोत पुनर्भरण गर्ने उद्देश्यले ‘रिचार्ज काठमाडौँ’ अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरपालिकाले घर, कार्यालय तथा सार्वजनिक स्थलमा १३८ वटा जमिन पुनःभरण प्रणाली (रिचार्ज पिट) निर्माण गर्ने लक्ष्य लिएको छ ।
जलवायु परिवर्तन कार्य सप्ताहको पहिलो दिन आइतबार राष्ट्रिय सभा गृह परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले रिचार्ज पिटमा पानी हालेर अभियानको शुभारम्भ गर्नुभयो ।
जलवायु परिवर्तन कार्य सप्ताहसँगै ‘रिचार्ज काठमाडौँ’ अभियान सुरु, घर र कार्यालयमा वर्षाको पानी जमिनमुनि पठाउने प्रणाली विकास गरिने
अभियानको शुभारम्भ गर्दै कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले जमिन पुनःभरणलाई काठमाडौँको मौलिक प्राकृतिक तथा सांस्कृतिक स्वरूप संरक्षण गर्ने दिगो उपायका रूपमा व्याख्या गर्नुभयो । रैथाने वनस्पति, चराचुरुङ्गी र जीवजन्तुको संरक्षण, स्थानीय बालीको उपलब्धता तथा नदी किनारको हरियाली कायम राख्न भूमिगत जलस्रोतको संरक्षण आवश्यक रहेको उहाँको भनाइ थियो । हिति र राजकुलो प्रणालीको विकास तथा संरक्षणमा समेत जमिन पुनःभरण अभियानले योगदान पुर्याउने उहाँले बताउनुभयो ।
मुख्यमन्त्री थापाले सङ्घ र प्रदेश सरकारले आवश्यक स्रोत उपलब्ध गराउने तथा महानगरपालिकाले प्राविधिक सहयोग गरेर अभियानलाई प्रभावकारी बनाउन सकिने बताउनुभयो । काठमाडौँ महानगरपालिकाले सुरु गरेको अभियानले देशभर यस्तै कार्यक्रम विस्तार गर्न प्रेरणा दिने उहाँको अपेक्षा थियो ।
कार्यवाहक प्रमुख डंगोलले पानीको अभावले निम्त्याएका समस्या बढ्दै गएकाले छलफलमा मात्र सीमित नभई तत्काल काम थाल्नुपर्ने बताउनुभयो । महानगरपालिकाको कार्यालय, वडा कार्यालय र विद्यालयलगायत सार्वजनिक संस्थामा रिचार्ज प्रणाली निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।
‘हामी घर र कार्यालयमा १३८ वटा जमिन पुनःभरण प्रणाली बनाउने अभियानमा छौँ । सरकारी कार्यालयले स्थान उपलब्ध गराए महानगरपालिकाले प्राविधिक सहयोगसहित रिचार्ज प्रणाली निर्माण गरिदिनेछ,’ उहाँले भन्नुभयो ।
अभियान महानगरपालिकाको संस्थागत जिम्मेवारीमा मात्र सीमित नभई साझा पृथ्वीप्रति जिम्मेवार नागरिकका हैसियतले सुरु गरिएको उहाँको भनाइ थियो ।
महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईका अनुसार रिचार्ज प्रणाली निर्माणका लागि गत वर्ष एक करोड रुपैयाँ विनियोजन गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियामार्फत करिब ८० लाख रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको छ । योजनाअन्तर्गत मागका आधारमा सरकारी कार्यालय तथा सरकारी जग्गामा रिचार्ज पिट निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।
निर्माण गरिने रिचार्ज पिट २० फिट गहिरो हुनेछ । यसको तल्लो नौ फिट भागमा ढुङ्गा, त्यसको माथिल्लो सात फिटमा २० देखि ४० मिलिमिटर आकारका गिट्टी र त्यसपछि एक फिट बालुवा राखिनेछ । पानी छान्न बालुवामाथि जिओटेक्सटाइल कपडा राखिने र माथिल्लो तीन फिट भाग खाली छाडेर ढकनी लगाइने विभाग प्रमुख राईले बताउनुभयो ।
महानगरपालिकाले २ फिट ६ इन्च, तीन फिट र चार फिट व्यासका समान ४६–४६ वटा रिचार्ज पिट निर्माण गर्ने योजना बनाएको छ । यसरी कुल १३८ वटा प्रणाली निर्माण गरी वर्षाको पानीलाई जमिनभित्र पुनःभरण गर्ने लक्ष्य महानगरपालिकाले लिएको छ ।
