नुवाकोट र रसुवामा रु १० करोड ६१ लाखकाे कृषि कार्यक्रम

नुवाकोटः कृषि ज्ञान केन्द्र नुवाकोटले चालु आर्थिक वर्ष २०७९/८० मा नुवाकोट र रसुवामा रु १० करोड ६१ लाख बराबरको योजना तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

बागमती प्रदेश सरकारअन्तर्गत रहेको कृषि ज्ञान केन्द्र नुवाकोटको कार्यक्षेत्र दुई जिल्ला भएकाले सोहीअनुसार योजना तथा कार्यक्रम सञ्चालन गर्न लागेको ज्ञान केन्द्रले जनाएको हो ।

केन्द्रका अनुसार किसान र स्थानीय तहमार्फत माग भएर आएका, पुराना कार्यक्रममा निरन्तरता र प्रदेश सरकारको लक्ष्यअनुरुपका विभिन्न २७ शीर्षकका कार्यक्रम चालु आ.व.मा सञ्चालन गर्न लागिएको हो ।

गत आवमा रु १० करोड ३७ हजार लागतमा ३६ वटा योजना तथा कार्यक्रम सम्पन्न गरेको केन्द्रले चालु आवमा योजनाको सङ्ख्या घटाएर बजेटको आकार बढाएको जनाएको छ ।

जिल्लामा उत्पादन हुँदै आएका बाली धान, मकै, गहुँ, कोदो, आलु, विभिन्न जातका तरकारी, किवी, स्ट्रबेरी, चिया र कफीको प्रवद्र्धनका लागि बजेट प्राथमिकतामा राखिएकोे छ ।

यस्तै, रसुवामा आलु, कालोमुसुरो, स्याउ र विभिन्न जातका तरकारीको उत्पादन र उत्पादकत्व वृद्धिका लागि सहयोग पुग्ने गरी योजना तथा कार्यक्रम समावेश गरिएको छ ।