आठौं संविधान दिवसको अवसर

असोज १ गते झुल्केघामसँगै एमालेले उपत्यकाका पाँच ठाउँबाट वाकथन गर्ने, बानेश्वरको नेतृत्व अध्यक्ष ओलीबाट

काठमाडौं । नेकपा (एमाले) ले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन उपत्यकामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । आठौं संविधान दिवसका अवसरमा पार्टीले आगामी असोज १ गते उपत्यकामा हजारौंको सहभागितामा वाकथन (पदयात्रा) आयोजना गर्ने तयारी गरेको जनसंगठन समन्वय संयन्त्रका सहसंयोजक रचना खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपत्यकाका विभिन्न पाँच ठाउँ नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट सुरु हुने वाकथनको वसन्तपुर पुगेर विसर्जन गर्ने कार्यक्रम तय गरिएको छ । निर्वाचन आयोगले संविधान जारी भएको दिन असोज ३ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने मिति तोकेकाले एमालेले यो कार्यक्रम असोज १ गतेलाई तय गरेको उहाँले जानकारी दिनुभयो ।

‘असोज १ गते झुल्केघाँमसँगै उपत्यकामा बस्ने एमाले र शुभचिन्तकहरुलाई एकै पटक वाकथनमा सहभागी गराउने एमालेको तयारी छ,’ उहाँले भन्नुभयो, ‘हामीले सकेसम्म वाकथनमा सहभागी सबैलाई चुच्चेनक्शासहितका साना–साना पर्चा छाति टाँसेर प्रदर्शनसहित सहभागी गराउने तयारी गरेका छौँ ।’ एमालेको पालामा जारी भएको चुच्चेनक्शाबारे सबैलाई जानकारी दिनका लागि पनि यो तयारी गरेको उहाँको भनाई छ । उहाँले असोज १ मा ५० हजारको सहभागिता गराउने तयारी भएको जानकारी दिनुभयो ।

वाकथनमा काठमाडौँ, ललिपुर र भक्तपुरको पार्टी कमिटी, जनवर्गीय संगठनहरु, सम्र्पकमञ्चलगायतको सभागिता रहने उहाँले जानकारी दिनुभयो । ‘बानेश्वरबाट सुरु हुने वाकथुनको नेतृत्व पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले गर्नुहुनेछ । त्यसैगरी लैनचौरको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मैतिदेवीको नेतृत्व उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, कालिमाटीको नेतृत्व उपाध्यक्ष अष्टलक्ष्मी शाक्य,सुरेन्द्र पाण्डे, कुपण्डोलको नेतृत्व युवराज ज्ञवाली, विष्णु पौडेलले गर्नुहुनेछ । त्यसैगरी वाकथनमा उपाध्यक्ष रामबहादुर थापा बादल, महासचिव शंकर पोखरेललगायतका नेताहरु पनि सहभागी हुनुहुने छ ।

पाँच ठाउँबाट निस्किएको वाकथन बसन्तपुरसम्म पुग्ने छ । त्यहाँ पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएपछि कार्यक्रम समापन गरिने छ । लामो राजनीतिक सङ्घर्षपछि नेपाली जनताले संविधान सभाबाट संविधान पाएको विषयलाई त्यही उचाईंमा महत्व दिनु आवश्यक देखिएकाले पार्टीले एउटा परम्पराको थालनी गर्न चाहेको र यसबर्ष वाकथन आयोजना गर्न लागिएको एमालेले जानकारी दिएको छ ।

संविधान दिवसका अवसरमा आयोजित यस कार्यक्रमलाई पार्टीको घेराभित्र सीमित नगरिएको र देशभक्त, सामाजिक क्षेत्र, पेशा, व्यवसायमा संलग्न तथा एमालेप्रति शुभेच्छा राख्ने आम जनसमुदायलाई सहभागिताका लागि आह्वान गरिएको छ । ०७२ साल असोज ३ गते संविधान सभाबाट ‘नेपालको संविधान–२०७२’ जारी भएको हो ।