चितवनमा जापनिज इन्सेफ्लाइटिसबाट एककाे मृत्यु

भरतपुर : भरतपुरमा जापनिज इन्सेफ्लाइटिसका कारण एक जनाको मृत्यु भएको छ भने एक जना सङ्क्रमित थपिएका छन् ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ की ५२ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । ती महिला सङ्क्रमितको सूचीमा रहेपछि खोजीका क्रममा यसअघिनै मृत्यु भएको थाहा भएको हो ।

स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईका अनुसार योसँगै जिल्लामा जापनिज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि मृत्यु हुनेमा माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धा रहेकी थिइन । चापागाईका अनुसार हालसम्म जिल्लामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएका १० मध्ये दुई जनाको मृत्यु भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ती बिरामीको नमूना भरतपुरको नारायणी सामुदायिक अस्पतालबाट पठाइएको उल्लेख छ । अस्पतालको रेकर्डमा भने ती बिरामीको नाम नभएको कार्यालय प्रमुख चापागाईले बताउनुभयो । थप विवरणका लागि भरतपुर महानगरपालिकाको स्वास्थ्य महाशाखालाई भनिएको उहाँले जानकारी दिनुभयो । विस्तृत विवरण महानगरमार्फत आउने उहाँको भनाइ छ ।

सन् २०२१ मा जिल्लामा यो सङ्ख्या एक जना रहेको थियो । सन् २०२० मा एक जना थियो भने सन् २०१९ मा जिल्लामा यो सङ्ख्या शून्य रहेको थियो । विश्व स्वास्थ्य सङ्गठनले एउटा जापानिज इन्सेफ्लाइटिसको बिरामी देखिँदै गर्दा तीन सय बिरामी लुकेको अवस्थामा हुने प्रक्षेपण गरेको हुन्छ । यसलाई हेर्दा चितवनमा तीन हजारमा सङ्क्रमण हुनसक्ने भन्दै सतर्कता अपनाइएको स्वास्थ्य कार्यालय चापागाईको भनाइ छ ।

सुँगुर प्रजाति र हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा याे रोग सर्ने गर्दछ । मानिसबाट मानिसमा यो रोग सर्दैन । अहिले जिल्लामा ग्रामीण क्षेत्रमा यो रोग बढी देखिएको छ । यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउने, बेसुरको हुने, कहिलेकाहीँ बेहोस हुने, छारे रोगको झै शरीरमा कम्पन आउने उहाँले जानकारी दिनुभयो ।