पाल्पामा भेटियाे १ सय ५७ जना डेँङ्गु रोगका सङ्क्रमित
पाल्पा, ५ असाेज । पाल्पामा डेँङ्गु रोगका बिरामी बढ्दै गएका छन् । जिल्लामा हालसम्म एक सय ५७ जना डेँङ्गु रोगका सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ ।
स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन अधिकृत मधुसुदन भट्टराइका अनुसार डेँङ्गुको सङ्क्रमणले पाल्पामा एक जनाको मुत्यु भएको छ । सङ्क्रमित बिरामीको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
तानसेन नगरपालिका, रैनादेवीछहरा गाउँपालिका, रिब्दिकोट गाउँपालिकामा सङ्क्रमित बढिरहेको पाइएको छ ।
सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा जिल्लाका सरकारी अस्पतालमा कीट अभाव छ । डेङ्गु नियन्त्रणका लागि जिल्लाका विभिन्न पालिकाले जनचेतनामूलक कार्यक्रम गरिरहेका छन् ।
डेँङ्गु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेँङ्गुको भाइरसबाट सङक्रमित भएको ‘एडिस रजिष्टाइ’ जातको पोथीले यो रोग सार्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्दछ ।
यसले स–साना पानी जमेका स्थानमा फूल पार्ने गर्दछ । खासगरी वर्षाको पानी जस्तै टिनका डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फूलदानी गमला, पानीका ट्याङ्कीमा यसले फूल पार्दछ । यो भाइरस चार प्रकारका हुन्छन् ।
एडिज लामखुट्टे कालो रङ्गको हुन्छ जसमा सेतो थोप्ला पनि देखिन्छ । यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ । औँलो उत्पादन गर्ने लामखुट्टे फोहर पानीमा पाइने भए पनि डेँङ्गु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।