चितवनमा बालबालिकाहरूकाे निःशुल्क मुटु परीक्षण

चितवन, ९ असाेज । चितवनका ग्रामीण भेगका बालबालिकाको मुटु परीक्षण अभियान सञ्चालन गरिएको छ ।

बालबालिकामा मुटुको समस्या भएर भविष्यमा जटिलता उत्पन्न नहोस् भन्ने उद्देश्यले लायन्स क्लब अफ चितवन र नेपाल हर्ट फाउण्डेशन भरतपुर शाखासँगको सहकार्यमा मुटु अस्पतालले अभियान अघि बढाएको हो ।

अस्पतालका कार्यकारी प्रमुख डा शङ्कर लौडारीका अनुसार गएको पुसयता हालसम्म सात विद्यालयका तीन हजार पाँच सय जनाको निःशुल्क मुटु परीक्षण गरिसकेको छ ।

तीमध्ये १५ जनामा मुटुको बाथरोग, १३ जनामा मुटुको जन्मजात समस्या देखिएको छ । तिनीहरूमध्ये चार जनाको शल्यक्रिया गर्नुपर्ने भएको उहाँले जानकारी दिनुभयो ।

अभियानका क्रममा औषधि निःशुल्क वितरण गरिएको थियो भने शल्यक्रियाका लागि सहजीकरण गरिएको छ ।

परीक्षण बछ्यौली, शिक्षा विकास , मालपुर , ब्रम्हपुरी , समिपुर र झुवानी मावि सहित स्काइराइडर बोर्डिङ स्कुलमा गरिएको हो । तीमध्ये सबैभन्दा बढी समिपुरमा चार जनामा समस्या देखिएको थियो ।

बालबालिकामा मुटुमा प्वाल पर्ने, मुटुबाट निस्किने नशा सानो हुने, मुटुको भल्व सुक्ने, मुटुमा पानी जम्मा हुनेजस्ता समस्या देखापर्ने गर्दछन् ।

यस्तो समस्या भए पनि अधिकांशमा लक्षण नदेखिने हुँदा परीक्षण गर्नुपर्ने डा लौडारीले बताउनुभयो । उहाँका अनुसार ९९ प्रतिशत मुटुसमस्या इको गरेर पहिचान गर्न सकिन्छ ।