‘हिजो आजका कुरा’ अब ठूलो पर्दामा हेर्न पाइने

काठमाडाैं, ११ असाेज । नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृङ्खला ‘हिजो आजका कुरा’ अब ठूलो पर्दामा हेर्न पाइने भएकाे छ ।

अभिनेता तथा निर्देशक सन्तोष पन्तले‘ हिजो आजका कुरा’लाई सानो पर्दामा नभई ठूलो पर्दामा ल्याउँने तयारीमा जुटनुभएको हाे ।

उहाँकै छोरा साकार पन्तले ‘हिजो आजको कुरा’ फिल्ममार्फत निर्देशनमा डेब्यु गर्दै हुनुहुन्छ । अभिनेता सन्तोष भन्नुहुन्छ, “पुस्तान्तरण गरेको हुँ । नयाँ पुस्तालाई नयाँ सोच भएकै मेकर्स चाहिन्छ भनेर छोरालाई अगाडि सारेको हुँ ।”

टेलिशृङ्खलनकाे रुपमा लोकप्रिय भएपछि ठूलो पर्दामा ल्याउँदा ‘द मुभी’ लेखिएको छ । “यसलाई टिभीकै शृङ्खला नबुझियोस् भनेर मुभी नै लेखेका हौँ । टेलिभिजनको दर्शकलाई हलसम्म ल्याउने तयारी छ”, अभिनेता पन्तले भन्नुभयो ।

फिल्ममा हिजो आजकै भइरहेका कुरा देखाइएको उहाँले बताउनुभयो । फरक सोचका कुरा, बेथितिका कुरा, विदेशिनेका कुरा, विदेशिएका कुरा, मतभेदका कुरालाई समेटेर फिल्म तयार गरिएको छ ।

छ सय ९९ भाग प्रसारण भएर कीर्तिमान बनाउन सफल टेलिशृङ्खलालाई तत्कालीन समयमा टेलिभिजनमा पर्खिने दर्शकको कमी थिएन ।

फिल्ममा ऋचा शर्मा, दिव्य देव, रीमा विश्वकर्मा, केकी अधिकारी, स्व. जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, विनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सविन शाक्य, कमला रेग्मी, रिहान केसीलगायतको अभिनय रहेको छ ।