अग्निलाई गठबन्धनकै मोहनको प्रश्न–‘पदमुक्त भएपछि पनि झण्डावाल सवारीमा कुद्न मिल्छ ?
काठमाडौँ, १४ असोज । संविधानको धारा ९१ (६) (क) ले प्रतिनिधिसभाको सदस्य नभएमा सभामुख र उपसभामुख पदमुक्त हुने व्यवस्था गरेको छ । यो व्यवस्थालाई आधार मान्दाअसोज १ गते राती नै प्रतिनिधिसभाको कार्यकाल सकिएको छ ।
यस्तो अवस्थाले पनि अग्निप्रसाद सापकोटा र पुष्पा भूसाल सभामुख र उपसभामुखको पदबाट स्वतः पदमुक्त भइसक्नु भएको छ । तर, अहिले उहाँहरुले विभिन्न व्याख्या गरेर पदमै रहिरहेको स्थितिबारे उहाँहरुको आलोचना भैरहेको छ ।
सापकोटाकै निर्वाचन क्षेत्रका कांग्रेस नेता मोहनबहादुर बस्नेतले समेत उहाँको आलोचना गर्नुभएको छ । उहाँ सांसद नै नरहेको अवस्थामा उनीहरुले चुनेर बनाएको सभामूख र उपसभामुख पद पनि स्वतः खारेजी हुने बताउनुहुन्छ । ‘संसदीय व्यवस्था भएका संसारभरका मुलुकहरुमा पनि संसदको आयू समाप्त भएपछि सरकार रहिरन्छ । तर, समाभुखलगायतको पद स्वतः सकिन्छ,’ उहाँले भन्नुभयो, ‘मलाई जानकारी भएसम्म यो विषयलाई लिएर अदालतमा मुद्धा समेत परिसकेको छ । त्यसैले यो विषयमा यो भन्दा धेरै भन्नुपर्ने आवश्यकता देखिदैँन ।’
धारा ९१ ६ (क) कै प्रतिबन्धात्मक वाक्यमा ‘विघटन भएको अवस्थामा मनोनयनको अघिल्लो दिनसम्म सभामुख र उपसभामुखको कार्यकाल रहने’ भन्ने व्यवस्था छ । यहि कानुनी व्यवस्थालाई देखाएर पदमा बस्नु उचित नहुने कानुनविद्हरुको पनि तर्क रहेको छ ।
यो विघटन होइन, संसदको नियमित कार्यकाल सकिएको हो । स्वभाविक कार्यकाल सकिएको अवस्थामा विघटनका बेला आकर्षित हुने प्रावधान देखाएर पदमा बस्नु उचित नहुने भन्दै बस्नेत पनि समाभुख पदकै हैसियतमा झण्डावाल गाडी लिएर चुनावी अभियानमा उहाँ हिँड्नुभयो भने जनताले मूल्याङ्कन गर्ने दाबी गर्नुहुन्छ । ‘उहाँले यी सबै कुरालाई लत्याएर झण्डावाल गाडीमा चुनाव प्रचार–प्रसारमा हिँड्ने मन गर्नुभयो भने जनताले अवश्य मूल्याङ्कन गर्नेछन् ।
अहिलेका सबै जनता कानुनी कुरा बुझ्ने र सचेत भैसकेका छन्,’ उहाँले भन्नुभयो, ‘सांसदहरुको मत पाएर सभामुख हुने हो । सांसद नै नरहेको संसदको सभामुख उहाँ कसरी रहिरनुहोला र ?’
निर्वाचन आयोगले असोज १ गतेदेखि लागू हुने गरी २०७४ सालको समानुपातिक बन्दसूचीलाई स्वतः खारेज गरेको छ । यस्तो अवस्थामा पनि उहाँहरु पदमा बसिरहनु उचित होइन ।