जिल्ला अस्पताल खोटाङमा जडान गरेको दुई महिनामै बिग्रियो अक्सिजन प्लान्ट
खोटाङ, २९ असाेज । खोटाङस्थित जिल्ला अस्पताल मा जडान गरिएको अक्सिजन प्लान्ट उद्घाटन गरेको दुई महिना नबित्दै बिग्रिएको छ ।
अक्सिजन प्लान्टकाे थ्री फेज स्टेप्लाइजरको पिसी बोर्ड बिग्रँदा २० दिनदेखि अक्सिजन उत्पादनको काम बन्द भएको जिल्ला अस्पतालका प्रमुख डा नितु लामाले बताउनुभएको छ ।
मुन रक्स इन्टरनेशनल प्रालिले जडानको जिम्मा लिएको अक्सिजन प्लान्ट गत साउन २३ गते औपचारिकरूपमा उद्घाटन गरिएको थियो । प्रदेश सरकार, १ नं प्रदेशको रु एक करोड ५० लाखमा जडान गरिएको अक्सिजन प्लान्टले काम नगर्दा अक्सिजन सिलिण्डर भर्नका लागि विराटनगर पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
अक्सिजन उत्पादन बन्द हुँदा सिकिस्त अवस्थाका बिरामीलाई अक्सिजन दिँदै अन्यत्र लैजानसमेत असहज भएको बिरामीका आफन्तले बताएका छन् । अक्सिजन प्लान्ट जडानसँगै जिल्ला अक्सिजनमा आत्मनिर्भर बनेको भनिएको थियो ।
अक्सिजन प्लान्ट जडानका लागि अस्पतालले बोलपत्र आह्वान गरेकामा नौवटा फर्मको आवेदन परे पनि घटाघटमा मुन रक्स इन्टरनेशनल प्रालिले ठेक्का पारेको थियो । तर अक्सिजन प्लान्टको संरचना कमसल बनेको भन्दै सर्वत्र विरोध भएको थियो ।
अक्सिजन प्लान्टको ट्रस अस्पतालकै एउटा भवनसँग अडेसा लगाएर (टाँसेर) बनाइएको, सिङ्गल इँटाको पर्खाल धकेल्दा ढल्ने खालको बनाइएको, ट्रसमाथि कागजजस्तो पातलो जस्ताको छाना हालिएको, मान्छे छिर्न सक्ने ठाउँ राखिएको, पर्खालभन्दामाथि र छानामुनिको ‘स्पेस’मा कुखुराको खोरलाई बारेजस्तो पातलो तारजालीले बारेको, जालीलाई प्लाष्टिकको डोरीले बाँधेको पाइएपछि रु १० लाख भुक्तानी रोकिएको थियो ।
अक्सिजन प्लान्टको जस्ता र जाली फेर्ने, पर्खाल प्लास्टर गर्नेलगायतका काम गरेपछि मात्र बाँकी रकम भुक्तानी दिइएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ ।
अक्सिजन प्लान्टको ट्रस कमसल बनाइएको भन्दै गुनासो आएपछि गत असार २४ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई नेतृत्वको टोलीले निरीक्षण गरेको थियो ।
अक्सिजन भर्नका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य गर्न जिल्ला अस्पताल खोटाङमा जडान गरिएको अक्सिजन प्लान्टबाट दैनिक २० देखि २५ सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको थियो ।
विसं २०४९ वैशाख १ गते स्थापना गरिएको १५ शय्याको अस्पताललाई सङ्घीय सरकारको करिब रु २१ करोड लगानीमा ५० शय्यामा स्तरोन्नति गर्ने काम तीव्रगतिमा भइरहेको छ । स्थापना भएको ३० वर्षसम्म १५ शय्यामा सञ्चालन भइरहेको जिल्ला अस्पतालमा तत्कालका लागि सिलिन्डरमा भरेर प्रयोग गर्ने गरी अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको हो ।