दसौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा : आयोजक कर्णाली पदकविहीन
काठमाडौँ, मंसिर १३ । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत हालसम्म सम्पन्न खेलको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । प्रतियोगिताको सहआयोजक कर्णाली प्रदेश भने अहिलेसम्म पदकविहीन रहेको छ । हालसम्म बागमतीले १९ स्वर्ण, १२ रजत र १४ कास्य गरी कुल ४५ पदक जितेको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) १२ स्वर्ण, चार रजत र चार कास्य गरी २० पदकका साथ दोस्रो स्थानमा रहेको छ ।
त्रिभुवन आर्मी क्लबले ११ स्वर्ण, २० रजत र १९ कास्य गरी कुल ५० पदक जितेको छ भने नेपाल पुलिस क्लबले आठ स्वर्ण, १५ रजत र १८ कास्य गरी ४१ पदक प्राप्त गरेको छ ।
त्यसैगरी गण्डकी प्रदेशले चार स्वर्ण, एक रजत र चार कास्य गरी नौ, कोशी प्रदेशले चार स्वर्ण, एक रजत र एक कास्य गरी छ तथा सशस्त्र प्रहरी बल (एपिएफ) ले तीन स्वर्ण, एक रजत र एक कास्य गरी पाँच पदक जितेका छन् ।
लुम्बिनी प्रदेशले दुई स्वर्ण, छ रजत र तीन कास्य गरी ११, सुदूरपश्चिम प्रदेशले दुई स्वर्ण, पाँच रजत र दुई कास्य गरी नौ पदक प्राप्त गरेका छन् । मधेस प्रदेशले दुई कास्य पदक जित्दा कर्णाली प्रदेशको पदक सङ्ख्या शून्य छ ।
सहआयोजक कर्णाली प्रदेश नै पदकविहीन हुनुमा जनशक्ति अभाव, भौगोलिक विकटता र पर्याप्त तयारी हुन नसक्नु प्रमुख कारण रहेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले बताउनुभयो ।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार मङ्सिर ८ गतेदेखि पौडी, शारीरिक सुगठन, फुटबल, क्रिकेट, बास्केटबल, टेनिस, फुलकन्ट्याक्ट कराते, बक्सिङ र जिम्न्यास्टिकलगायत खेल अनौपचारिक रूपमा सञ्चालन भइरहेका छन् । तीमध्ये पौडी र शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भइसकेका छन् ।
नेपाल पुलिस पुरुष फुटबलको सेमिफाइनलमा
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालामा शनिबार भएको खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई १–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
नेपाल पुलिसका सुजन बलाम्पाकी मगरले पहिलो हाफको अतिरिक्त समयको ४६औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । खेलमा नेपाल पुलिसका शिशिर चौधरी, सञ्जीव लामा र अभिषेक लामा तथा गण्डकीका सन्दीप पौडेल र बिसन गुरुङले पहेँलो कार्ड पाएका थिए ।
नेपाल पुलिससँग पराजित भएपछि गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताअन्तर्गत आज मङ्सिर १३ गते दुई खेल हुँदैछन् । पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश तथा दोस्रो खेलमा बागमती र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुने म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिनुभयो । दुवै खेलका विजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
