ओलीको स्वास्थ्यमा सुधार आजका सबै कार्यक्रममा सहभागी हुनुहुने
काठमाडौैँ, कात्तिक २ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समान्य समस्या देखिएपछि गृह जिल्ला पुग्नु भएका ओलीले हिजो साँझ आराम गर्नुभएको थियो । आज उहाँको स्वास्थ्यमा सुधार आएको र निर्धारित कार्यक्रममा सहभागी हुने स्थायी कमिटी सदस्य हिक्मत कार्कीले जानकारी दिनुभयो ।
‘गृहजिल्ला झापा आइपुग्नु भएका ओलीलाई स्वास्थ्यमा सामान्य समस्या देखिएको थियो,’ एवं झापा ५ (१) का उम्मेदवार समेत रहनु भएका कार्कीले भन्नुभयो, ‘उहाँलाई रुघाखोकी र ज्वरो आएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि हिजोका भेटघाट तथा अन्य कार्यक्रममा उहाँ सहभागी हुनुभएन । उहाँ दमकस्थित निवासमै आराम गरिरहनु भएको थियो । आजका कार्यक्रममा सहभागी हुनुहुन्छ ।’
आज बिहान ११ बजे क्षेत्र नं १ को धुलाबारीमा बृहत्त कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने पूर्व निर्धारित कार्यक्रम छ । यसैगरी दिउँसो २ बजे दमकको रोयल पार्टी पार्टी प्यालेसमा क्षेत्र नं ५ स्तरीय बृहत कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको छ ।
३ गते नागरिकसँग भेटघाट कार्यक्रम आयोजना गरिएको छ । त्यसका लागि दमक ३ आमचोक र कमल गाउँपालिकाको केर्खामा जनतासँगको भेटघाट कार्यक्रम राखिएको छ । अध्यक्ष ओली ३ गते दिउँसो भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम छ ।