स्वास्थ्यमा सुधार आएसँगै गृहजिल्लाका कार्यक्रममा ओली सहभागी (चार तस्बिर)
काठमाडौँ, २ कात्तिक । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएसँगै गृह जिल्लाका कार्यक्रममा सहभागी हुनुभएको छ । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उहाँले हिजो साँझ आराम गर्नुभएको थियो । आज उहाँको स्वास्थ्यमा सुधार आएको र निर्धारित कार्यक्रममा सहभागी हुनुभएको स्थायी कमिटी सदस्य हिक्मत कार्कीले जानकारी दिनुभयो ।
‘गृहजिल्ला झापा पुग्नु भएका ओलीलाई स्वास्थ्यमा सामान्य समस्या देखिएको थियो,’ एवं झापा ५ (१) का उम्मेदवार समेत रहनु भएका कार्कीले भन्नुभयो, ‘उहाँलाई रुघाखोकी र ज्वरो आएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि हिजोका भेटघाट तथा अन्य कार्यक्रममा उहाँ सहभागी हुनुभएन । उहाँ दमकस्थित निवासमै आराम गरिरहनु भएको थियो । आजका कार्यक्रममा सहभागी हुनुभएको छ ।’
आज क्षेत्र नं १ को धुलाबारीमा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नुभएको छ । आजै दमकको रोयल पार्टी पार्टी प्यालेसमा क्षेत्र नं ५ स्तरीय बृहत कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको छ ।
३ गते नागरिकसँग भेटघाट कार्यक्रम आयोजना गरिएको छ । त्यसका लागि दमक ३ आमचोक र कमल गाउँपालिकाको केर्खामा जनतासँगको भेटघाट कार्यक्रम राखिएको छ । अध्यक्ष ओली ३ गते दिउँसो भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम छ ।