बांगेमुढाको त्वाःछेँ भवनमा फेरि आक्रमणः त्रसित टोलवासी आज वृहत् भेला गर्दै
काठमाडौं, ४ कात्तिक । काठमाडौंको ऐतिहासिक थायमरु (बांगेमुढा) टोलमा रहेको त्वाःछेँ भवनमाथि काठमाडौं महानगरपालिकाले हिजो फेरि गरेको आक्रमण पश्चात यसबारे गम्भीर छलफल गर्न आज बांगेमुढामा स्थानीयवासी र अभियन्ताहरूको बृहत् भेला हुने भएको छ ।
गएको दशैंताका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको आदेश भन्दै डोजर ल्याएर उक्त त्वाःछेँ (सामुदायिक भवन) भत्काउने प्रयास भएको थियो । तर स्थानीयवासीको विरोध पछि महानगरपालिका पछि हट्यो ।
त्यसपछि त्वाःछेँ समितिले अदातलमा विचाराधीन रहेको भवन भत्काउने प्रयास गरिएको भन्दै उच्च अदालतमा मुद्दा हालेको थियो भने त्यसैमाथि भएको सुनुवाइ पछि अदालतले गएको असोज २७ गते मात्रै हाललाई उक्त भवन नभत्काउने भनी अन्तरिम आदेश दिएको थियो ।
तर काठमाडौं महानगरपालिकाले अदालतको सो आदेशको समेत अपमान गर्दै उक्त त्वाःछेँ भवनमा फेरि क्षति पुर्याएको छ । हिजो विहीवार दिउँसो ३ बजेतिर वडा नं. २५ का वडाध्यक्ष राजेश डंगोलको नेतृत्वमा दलबल सहित आएको एउटा समूहले उक्त भवनमा ड्रिल मेशिन चलाई क्षति पुर्याएको थियो ।
वडाध्यक्ष डंगोल नेतृत्वको उक्त समूहले भवनको सबैभन्दा माथिल्लो तलाको छतदेखि नै ड्रिल मेशिनले प्वाल पारिदिएको थियो । त्यसपछि उनीहरूले सबै तलाको ढलानमा प्वाल पार्दै लगेको थियो । भवनमा कोही बस्न नसकियोस् र पानी पर्दा भित्रै पानी छिरेर भवन जर्जर भइदेओस् भन्ने आसयले त्यसो गरिएको अनुमान गर्न सकिन्छ
।
ड्रिल गरिरहेका वडा अध्यक्ष डंगोललाई ‘स्टे अर्डर’ आइसक्दा पनि किन फेरि भत्काउन आएको भनी स्थानीयवासीले प्रश्न गर्दा उहाँले ‘स्टे अर्डर आफ्नो हातमा आइनपुगेको’ भन्ने जवाफ दिनुभएको थियो ।
त्यसपछि स्थानीयवासीले उच्च अदालतका पदाधिकारीहरूलाई नै सम्पर्क गरी वडा अध्यक्षको हातमै स्टे अर्डर थमाइदिएका थिए । उच्च अदालतका न्यायाधीश रमेश ढकालको इजलासले उक्त अन्तरिम आदेश जारी गरेको थियो ।
सबैले कानुनको पालना गर्नुपर्छ भन्दै बाटोका ठेला उठाउने, अतिक्रमित संरचना भत्काउने, अण्डर ग्राउण्ड पसल हटाउने जस्ता काम गरिरहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बांगेमुढाको त्वाःछेँका हकमा भने अदालतको आदेशलाई नै वेवास्ता गर्न थालेकाले उहाँको ‘कानून पालना’ गराउने अन्य कार्यमाथि समेत प्रश्न उठ्न थालेको छ ।
उच्च अदालतले जारी गरेको आदेशमा ‘सार्वजनिक जग्गा प्रयोग, संरक्षण गर्ने कार्यमा उक्त भवनले वाधा पुर्यायो भनी कुनै पनि अध्ययन प्रतिवेदन नहुनुका साथै त्यसैको आधारमा कुनै योजना पनि प्रस्तुत नभएको कारणले विपक्षी (कामपा) ले उक्त भवनमा कुनै क्षति नपुर्याउनु’ भनिएको छ ।
आदेशमा उक्त भवन रहेको जग्गा (कित्ता नं. ५९४) को संरक्षण गर्ने गराउने दायित्व विपक्षी (कामपा) र निवेदक (त्वाःछेँ समिति) दुवैमा रहेको पनि उल्लेख गरिएको
छ ।
त्वाःछेँ समितिका अध्यक्ष डा. रमेश श्रेष्ठका अनुसार त्वाःछेँ समितिले उक्त भवन र त्यस पछाडिको करिब ४ आना जग्गा सबै आफ्नै हो भनी दावी गरेको छैन । त्वाःछेँले उक्त भवनलाई त्वाःछेँ लगायत, वडा कार्यालय र अरु स्थानीय संस्थाहरूको सामुदायिक भवनका रूपमा प्रयोग गरौँ भन्ने प्रस्ताव अघि सारेको छ । उक्त भवनमा शहीद शुक्रराज शास्त्रीको नाममा खोलिएको ‘शहीद शुक्र क्लब’ को कार्यालय पनि रहेको छ ।
महानगरपालिकाले यसरी ऐन कानूनकै ख्याल नगरी भवन भत्काउन आएकाले अब कसरी अगाडि बढ्ने भन्नेबारे आज बस्ने भेलाले निर्णय गर्ने बताइएको छ ।