नोटमा गभर्नरको ग्यारेन्टीको सही भए जस्तै यो घोषणापत्रको पाना पानामा एमालेको ग्यारेन्टीको सही छः केपी ओली

काठमाडौं, १५ कात्तिक । नेकपा (एमाले) को चुनावी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष केपी ओलीसँग चर्चित बैंकर एवं नेबिल बैंकका पूर्व सीईओ अनिल केशरी शाहले संवाद गर्नुभएको थियो । उहाँले राख्नुभएका प्रश्नहरूको उत्तर अध्यक्ष ओलीले दिनुभएको थियो ।

सो क्रममा अध्यक्ष ओलीले आफूले सार्वजनिक गरेको २० वटा ग्यारेन्टीहरु कुनै लहडमा आएको नभई नोटमा गभर्नरले ग्यारेन्टीको सही गरे जस्तै ग्यारेन्टी गरी ल्याइएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘जस्तो राष्ट्र बैंकले जारी गर्ने नोटमा यो नोट बराबरको भुक्तानी तुरुन्त पाइने छ भनी ग्यारेन्टी गरिएको हुन्छ, यो घोषणापत्रमा पनि पाना पानामा ग्यारेन्टी गरिएको छ, त्यो ग्यारेन्टी नेकपा एमालेले लिनेछ ।’

राजनीतिक दलका नेताहरू सरकारमा पुगेपछि राज्यको स्रोत साधन जथाभावी बाँड्ने क्रम बढिरहेको छ भन्ने प्रश्नको उत्तरमा अध्यक्ष ओलीले भन्नुभयो, ‘राज्यको स्रोत साधनहरू आफ्ना छोराछोरीलाई, नातागोतालाई, आफन्तलाई बाँड्ने होइन । जसले कमाइरहेको छ उनीहरूबाट अलिकति लिएर नहुने, अशक्त समुदायलाई बाँड्ने हो । जसले कमाउन सक्छ, कमाइरहेको छ उनीहरूलाई बाँड्नु जरुरी भएन । जसको त्यो अवस्था छैन उनीहरुलाई बाँड्ने हो ।’

उहाँले भन्नुभयो, ‘हामीले जब शुरुमा सय रुपैयाँ वृद्ध भत्ता बाँड्न थाल्यौं, केही नेपाल नबुझेका अर्थशास्त्रीहरूले हामीलाई कनिका छरे जस्तो गरे भनेर आरोप लगाए । हामीले बाँड्ने भन्दैमा अक्षय तृतियाका दिन बाटो हिँड्ने जति सबैलाई सातो सर्बत खुवाए जस्तै बाँडेर पठाउने होइन । जसलाई चाहिने हो उसलाई बाँड्ने हो ।’

यो चुनावमा सूर्यलाई किन भोट दिने भन्ने प्रश्नको उत्तरमा उहाँले भन्नुभयो, ‘यो हाम्रो देश कहिल्यै कसैको उपनिवेशमा नपरेको देश हो । हामी बलिदान दिन तयार छौँ, तर झुक्न तयार छैनौँ । यो देशका सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान जोगाउन सूर्यलाई भोट दिने हो ।’

उहाँले भन्नुभयो, ‘विश्वका ठूलठूला दार्शनिकहरू यही ठाउँमा जन्मेका हुन् । यही ठाउँमा ठूलठूला आविष्कारहरू भएका छन् । हामीसँग ती सबैको जेनेटिक मेमोरी छ । अहिले हामी केही पछाडि परेका हौँ । तर हामीसँग अहिले पनि ६० प्रतिशत वर्किङ पपुलेसन छन्, यी कुराहरूबाट पार पाउन सक्दछौँ । नेपाललाई अझै पनि विश्वको एउटा गन्तव्य मुलुक बनाउन सकिन्छ । त्यसको लागि एमालेलाई भोट दिने हो । त्यसैले हामीले नारा बनाएका छौँ, मंसिर चार–एमाले सरकार ।

बैंकर शाहको प्रश्न–उत्तरपछि अध्यक्ष ओलीलाई पत्रकारहरूका तर्फबाट पनि प्रश्न राखिएको थियो । त्यस क्रममा पहिलो प्रश्न कार्यक्रम सञ्चालिका एवं पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले राख्नुभएको थियो । उहाँ लगायत अन्य सहभागीहरुको प्रश्न–उत्तर यस्तो रह्यो ः

हामी जहिले पनि समृद्धिका कुरा गर्छौं, तर नेपाललाई समृद्ध हुन र विकास गर्नबाट सधैँ केले रोक्छ होला ?

हामीले सबै नेपाली सुखी भए भनेको छैन । सुखी बनाउने हाम्रो अभियान हो । कति नेपाली सुखी भए भन्ने कुरा हामी कति प्रतिशत नेपालीको आम्दानी कति छ भन्ने जीडीपी हेरेर निर्धारण गर्दैनौँ । कति प्रतिशत नेपालीहरु गरिबीको रेखामुनि छन् भन्ने कुरा हेरेर त्यो निर्धारण गर्छौँ । सबै नेपालीहरू जबसम्म निर्भय भएर, कसैको दबाबमा नपरीकन सुखी हुँदैन तबसम्म नेपाल समृद्ध भएको मान्न सकिँदैन । सुख खोज्न जो नेपालीहरू बाहिर देशमा गएका छन् उनीहरूलाई यहीं बसुँ बसुँ लाग्ने वातावरण हामीले बनाउनु छ ।

तपाईंको यो २० बुँदे ग्यारेन्टीमा चुच्चे नक्साको कुरा त परेको देखिएन । यो कन्फर्टेवल होस् भनेर हो कि ? अर्को प्रश्न छ, तपाईंले यो बिल लिएर आउँदा भुक्तानी पाइन्छ भन्नुभयो, यो भन्दा अगाडि गरिएका ग्यारेन्टीहरू जस्तो कि घरका चुला चुलामा ग्याँसको पाइप, रेलको कुरा, यसको भुक्तानी चाहिँ कहाँ माग्न जाने होला ?

यसलाई चुच्चे नक्सा होइन, म चाहिँ देशले गुमाएको भूभाग फेरि समेटेर बनाएको नयाँ नक्सा भन्छु । त्यो कुनै रमाइलोको लागि निकालिएको नक्सा होइन । मेरो नेतृत्वको सरकारले सुझबुझपूर्वक निकालेको नक्सा हो । त्यसलाई संसदले सर्वसम्मत ढंगले पारित गरेको थियो । त्यो छापेर पनि गइसकेको छ ।

जहाँसम्म चुला चुलामा ग्याँसको पाइपको कुरा छ, भारतको मोतिहारीदेखि मैले नै उद्घाटन गरेर भारतदेखि पाइपमा ग्याँस राखेर नेपाल पु¥याएको यहाँहरूले देख्नुभएकै होला । हामीले विकासलाई एउटा जडसूत्रको हिसाबले मात्र होइन, स्पिरिटको हिसाबले पनि हेर्नुपर्छ । त्यतिबेला नाकाबन्दीका कारण हामी ग्याँसबाट पीडित थियौं, त्यतिबेला निराशा नहुन मैले त्यो भनेको थिएँ । त्यति मात्र होइन, हामी एउटा देशबाट मात्र वेष्टिठ भइरहेको अवस्थालाई तोडेर अर्को देशसँग नाता जोड्यौँ । नयाँ युगको शुरु भयो । हामीले नेपाललाई अब कसैले नाकाबन्दी गर्नै नसक्ने युगमा पु¥यायौं । अब यी सबै कुराहरू २०७२ सालको कुरा हो । अहिले २०७९ साल हो । अहिले अर्को युग भइसक्यो । हामीले त्यतिबेला घर घरमा ग्याँस पु¥याउने भनेका थियौँ, अब घर घरमा आफ्नै देशमा उत्पादन भएको विद्युत पु¥याउनेछोँ ।

हाम्रो देशको संविधान हेर्दा अहिले एउटै मात्र पार्टीले बहुमत ल्याउन सम्भव जस्तो लाग्दैन । के यसको लागि संविधानमा संशोधन गर्नु आवश्यक छ ?

हो, तपाईंले भन्नुभए जस्तै बहुमत ल्याउन सजिलो छैन । ल्यायो भने एमालेले मात्रै ल्याउन सक्छ, अरुले सम्भवै छैन । एमालेले सजिलो मात्र काम गर्दैन, देश विकासको गाह्रो काम पनि गर्छ । अहिले संसदमा २७५ सिट छ । यसमा १३८ सिट ल्याए भने बहुमत पुग्छ । अहिले एमाले १५० को गन्तव्य लिएर अगाडि बढिरहेको छ । अहिले हामी बहुमतकै मिसन लिएर अगाडि बढिरहेको छ । त्यसैले एमालेको लागि बहुमत ल्याउन सम्भव छ । यसको लागि संविधान संशोधन गरिरहनु पर्दैन ।

अहिले केही पार्टीहरू एमाले र ओली खतरा छन् भनेर गाउँ गाउँमा प्रचार गरिरहेका छन् । के तपाईं साँच्चै खतरा हो त ? एउटा अर्को प्रश्न, मंसिर ४ पछि यदि एमालेले बहुमत ल्यायो भने प्रधानमन्त्री बन्ने केपी ओली नै हो कि अर्को कुनै युवालाई अगाडि ल्याउनुहुन्छ ?

बहुमत आएपछि जो पनि प्रधानमन्त्री बन्न पाइन्छ । हामी कसैलाई निषेध गर्दैनौं । तर सेन्टिमेन्टले देश बन्दैन । देश बनाउन दृष्टिकोण चाहिन्छ । अब जहाँसम्म एमाले खतरा छ भन्ने कुरा छ, हो, उहाँहरूको लागि चाहिँ खतरा नै हो । जसले गलत काम गर्छ, उनीहरूलाई एमालेले रोक्छ भन्ने खतरा लागेको छ । देशको लागि चाहिँ एमाले शुभलक्षण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *