साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालको लगातार दोस्रो जित

काठमाडौं, १९ कात्तिक । बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

ढाकामा भएको शनिबारकाे खेलमा घरेलु टोली बंगलादेशलाई १-० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

नेपालको जितमा वर्षा ओलीले निर्णायक गोल गरिन् । उनले ८७ औं मिनेटमा गोल गरेकी थिइन् । यस जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ ।

नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले पहिलो खेलमा बिहीबार भुटानलाई ७-० गोल अन्तरले हराएको थियो ।

बंगलादेश २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । बंगलादेशले पहिलो खेलमा भुटानलाई ८-० गोल अन्तरले हराएको थियो । नेपालले बुधबार भुटान र शुक्रबार पुन: बंगलादेशसँग खेल्नेछ ।