बोर्डका अध्यक्ष भुवन केसीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडाैं, २४ कात्तिक । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै आयोगले अध्यक्ष केसीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

आयोगले भनेकाे छ, तपाई चलचित्र विकास बोर्डको अध्यक्ष रहेको व्यक्तिले राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गर्नुभएको होईन भन्ने आधार प्रमाण के छ?

तपाईं राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसारमा सहभागी हुनु भएको कार्य निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) र (ख) को विपरीत देखिएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम कारवाही किन हुनु नपर्ने हो ?

तपाईं सरकारी पदमा बहाल रहेको व्यक्तिले जानाजान रुपमा निर्वाचनमा उम्मेदवार रहेको व्यक्तिको प्रचारप्रसार गर्नुभएको ठहर भएमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ बमोजिम विभागीय कारवाही समेत हुनसक्ने भएकोले तपाईं उपर उक्त कारवाही किन हुनु नपर्ने हो ?

उल्लेखित कानूनी व्यवस्था रहेको सम्बन्धमा तपाईंले कुनै दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी हुने कार्य निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने भएकोले देहायका विषयमा स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार अनुरोध छ ।