दैलेखबाट देउवालाई ओलीको सन्देश– ‘तपाईँ प्रधानमन्त्री हुँदा असोज १८ र माघ १९ को प्रतिगमन जनताले विर्सेका छैनन्’

दैलेख, २७ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचपटक प्रधानमन्त्री भए पनि एउटा पनि राम्रो काम नगरेको वताउनुभएको छ ।
अध्यक्ष ओलीले दैलेखमा आज आयोजित चुनावी सभामा गठबन्धनमा रहेका दलका नेताहरूलाई एउटामात्र राम्रो काम गरेको भए बताउन चुनौती दिनुभयो ।
नेकपा (एमाले) ले गरेका कम्तीमा १०० वटा उपलब्धि भन्नसक्ने वताउँदै अध्यक्ष ओलीले देउवा गृहमन्त्रीहुँदा एमालेका ३० हजार कार्यकर्तालाई सार्वजनिक मुद्दा लगाएको, देशमा आतङ्क मच्चाएको स्मरण गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– ‘सङ्घर्ष, आन्दोलन गरेर पञ्चायत ढालिसकेपछि, बहुदलीय व्यवस्था आएपछि पनि कांग्रेसको सरकार हुँदा म कम्तीमा ५० पल्ट गिरफ्तार भएको छु ।’
उहाँले २०५९ साल असोज १८ र माघ १९ को प्रतिगमन देउवा प्रधानमन्त्री हुँदा भएको र आन्दोलन गरेर लोकतन्त्र फिर्ता ल्याइएको स्मरण गर्दै देउवाले पाँचपटक प्रधानमन्त्रीहुँदा गरेको काम त्यही हो भन्नुभयो ।
अध्यक्ष ओलीले प्रधानमन्त्री नियुक्तिका लागि सेटिङमा अदालतबाट परमादेश जारी गराउनेहरूले नै संविधान मिचाउने काम गरेको वताउनुभयो ।