पुस्तक समीक्षाः एक सय एक ‘कालजयी नेपाली कविता’माथि सर्वग्राह्यताको प्रश्न

काठमाडाैं, ७ मंसिर । नेपाली साहित्यका विभिन्न विधामा कविलेखकका सामूहिक सङ्कलन धेरै अघिदेखि नै हुँदै आइरहेको छ । विशेषगरी नेपाली भाषाका कविता, कथा र निबन्ध तथा केही समालोचना र नाटकका लेखरचना एकै पुस्तकमा समाविष्ट गर्ने चलन रहिआएको छ । उपन्यास भने अन्य विधाभन्दा केही मोटै हुने भएकाले एकै लेखकका बाहेक विभिन्न स्रष्टाका समावेश गरेर सिङ्गो कृति प्रकाशन गर्ने काम भने हुन सकेको छैन । यस्तो सङ्कलन सरकारी तबरबाट नेपाल प्रज्ञा–प्रतिष्ठान र साझा प्रकाशनबाट हुँदै आएको छ ।

‘साझा कथा’, ‘साझा कविता’, ‘प्रगतिशील कविता’ आदि केही उदाहरण हुन् । प्रज्ञा–प्रतिष्ठानले पछिल्ला वर्षहरूमा यस्ता निकै सङ्कलन नेपाली–अङ्ग्रेजी दुवै भाषामा प्रकाशन गरेको छ । ईश्वर बरालको सङ्कलनमा रहेको ‘सयपत्री’ निबन्ध सङ्ग्रह पनि प्रख्यात छ । नकुल सिलवालको ‘बगर प्रकाशन’ले पनि वर्षभरि छापिएका उत्कृष्ट रचना भनी प्रकाशन गर्ने गरेको थियो । पछिल्ला कालमा सशस्त्र जनयुद्धसम्बन्धी, तराई–मधेस–पहाड, पृथ्वीनारायण शाह, युवा रचनाकार आदिसम्बन्धी कथा–कविताका सङ्कलन छापिएका छन् । निजी संस्थाहरूले पनि अब यसलाई गति दिन थालेका छन् ।

केही पत्रिकाहरूले ती विधाका विशेषाङ्क निकालेर सामयिक सङ्कलनको झैँ काम गरेका पनि छन् । पाठक तथा समालोचकहरूलाई नेपाली साहित्यको स्थिति र प्रवृत्ति कस्तो छ र कहाँ पुग्यो भनी जान्न यसले निकै मद्दत गर्छ । सोही विधाका रचनाकारहरूलाई पनि आफ्ना क्षेत्रको इतिहास र लेखन प्रवृत्ति जान्न तथा वर्तमानमा लेखिरहेका आफ्नै पुस्ता र कनिष्ठ पुस्ताबारे जानकारी पाउन सजिलो पर्छ ।

बिपी कोइराला नेपाल–भारत फाउन्डेसन’को प्रकाशकत्व र कृसु क्षेत्रीको सम्पादकत्वमा प्रकाशित ‘कालजयी नेपाली कविता’ (२०७९) पछिल्लो कालको नेपाली कविताको सामूहिक सङ्कलन हो । ‘पृथ्वीनारायण’कालीन कवि सुवानन्ददास (विसं १८२०) देखि सम्पादक क्षेत्री(२०३७) स्वयंको गरी १०१ कविका एकएक रचना समाविष्ट प्रस्तुत कृतिको भूमिका पनि क्षेत्रीकै छ । ‘युगमाथि विजय प्राप्त गर्ने’ भनिएका प्रस्तुत कविता विदेशमा जाँदा त्यहाँका साहित्यकारहरूले नेपाली प्रतिनिधि कविताको माग र खोजी गरेकाले पाठकसमक्ष प्रस्तुत गरिएको जिकिर गर्दै पछि हिन्दी र अङ्ग्रेजी भाषामा अनुवाद गरिने वाचा पनि गरिएको छ ।

‘अनन्त कालसम्म यात्रारत’, ‘आम पाठकका बीच लामो छाप, गहिरो प्रभाव र अपनत्वको भाव छाडेको’ र ‘पाठकको मनमस्तिष्कमा लामो समयसम्म बास गर्ने’, ‘शाश्वत मूल्य, ऐतिहासिक मूल्य र युगीन यथार्थपरक मूल्यका’, आफ्नो कवितात्मक मूल्यमा मानक निर्माण गरेका’, ‘तत्तत् कालखण्डका प्रतिनिधिमूलक आवाज’, ‘समय र समाजप्रति गरिएका सम्बोधन’, ‘युगीन यथार्थका अभिव्यञ्जना’, ‘मानवीय संवेदना तथा अनुभूतिका अभिव्यक्ति’, ‘आफ्नो समय र मनोसंवेदनाका विविध भावविम्बहरूलाई अभिव्यक्त गरेको’ र ‘चिरन्तन मूल्य अभिव्यक्त भएको’ यी ‘कालजयी कविता’हरू वास्तविक अर्थमा वर्षाैँसम्म जनमनमा कहिलेसम्म रहिरहने हुन् वा काललाई कतिसम्म जित्न सक्ने हुन्, भविष्यले बताउने छ ।

‘नेपाली साहित्यका चर्चित कवि, वरिष्ठ समालोचक र त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू सम्मिलित एक कार्यदल’ ले ‘विनाविभेद, तटस्थ रही कवि र कविताको समयमै चयन गरी सम्पादकलाई प्रस्ताव गरेका’ सङ्कलित कविताको रौँचिरा समालोचना उनीहरूबाट कत्तिको भयो, त्यसबारे कृतिमा कतै उल्लेख नभए पनि ‘युगीन स्वर’, ‘सूक्ष्म सामाजिक चेतना’, ‘विशिष्ट शैली, शिल्प र प्रवृत्ति’, ‘अर्वाचीन विषयवस्तुको प्रस्तुति’, ‘विशेष घटनाको अप्रतिम प्रस्तुति’, ‘इतिहासको भविष्यसँग साक्षात्कार’, ‘सर्वग्राह्यता’, ‘समष्टिगत वैचारिक आधार’, ‘सार्वभौमिक चेतना’ र ‘परिपक्वता–समग्रताको खोज’ जस्ता विशेषता प्रत्येक यी फुटकर कवितामा भए नभएको विश्लेषण भने गरिनुपर्छ ।

भानुभक्त आचार्यको ‘कान्तिपुरी नगरी’, लेखनाथ पौडेलको ‘पिँजराको सुगा’ धरणीधर कोइरालाको ‘जाग जाग’, लक्ष्मीप्रसाद देवकोटाको ‘पागल’, भीमनिधि तिवारीको ‘काम्यो लुगलुग त्यो’, सिद्धिचरण श्रेष्ठको ‘मेरो प्यारो ओखलढुङ्गा’, गोपालप्रसाद रिमालको ‘आमाको सपना’, माधवप्रसाद घिमिरेको ‘कालीगण्डकी’, मविवी शाहको ‘रारा कि अप्सरा’, विजय मल्लको ‘छोरीलाई मानचित्र पढाउँदा’, मोहन कोइरालाको ‘फर्सीको जरा’, हरिभक्त कटुवालको ‘यो जिन्दगी खै के जिन्दगी’, भूपी शेरचनको ‘मैनबत्तीको शिखा’, वासु शशीको ‘पर्खाल लगाएपछि धेरैथोक बाहिर पर्छ’, ईश्वरबल्लभको मेरी आमाले आत्महत्या गरेको देश’, मदन रेग्मीको ‘अन्त्यमा आत्मसमर्पण गर्ने प्रमेथियस’ र वैरागी काइँलाको ‘मातेको मान्छेको भाषणः मध्यरातपछिको सडकसित’ नेपाली साहित्यका बहुसङ्ख्यक पाठक मात्र नभएर अन्यले पनि मन पराउने, सम्झने र बेलाबेला उद्धरण गर्ने कविता हुन् ।

मोदनाथ प्रश्रितको ‘गोलघरको सन्देश’, शैलेन्द्र साकारको ‘सर्पहरू गीत सुन्दैनन्’, कृष्णभूषण बलको ‘काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन’, विक्रम सुब्बाको ‘सगरमाथा नाङ्गै देखिन्छ’, मीनबहादुर विष्टको ‘साला पहाडमा क्या है’, तीर्थ श्रेष्ठको ‘लाहुरे फूल ! म तिम्रो नाम फेर्न चाहन्छु’, दिनेश अधिकारीको ‘बिहे’, दुबसु क्षेत्रीको ‘साले दुबसु क्षेत्री’, आहुतिको ‘गहुँगोरो अफ्रिका’ र श्रवण मुकारुङको ‘बिसे नगर्चीको बयान’ पनि बिर्सन नसकिने कविता हुन् । कुन्ता शर्मा र मोमिलाका कविता धेरै ठाउँमा छापिएका र पढिएका हुन् । विद्यालय र क्याम्पस–विश्वविद्यालयका पाठ्यपुस्तकमा समावेश भएकाले केही रचना ‘कालजयी’ बन्न सकेका हुनसक्छन् । अनि ठूलो सभामा वाचन गर्न पाउँदा र उही रचना धेरै ठाउँमा वाचन गर्दा पनि त्यसले स्रोताका कानमा धेरै पटक बास गरेको हुन सक्छ ।

परराष्ट्र मन्त्रालयका अधिकृत रहनुभएका सम्पादकले समयगत, आयामगत, रचनागत र आकारगत सीमाका कारण सय जोड एकको सङ्ख्या मात्र समावेश गर्न सकिएको भनी स्विकार्नुभएकाले अन्य केही रहनैपर्ने कविता परेका छैनन् । पुराना कविहरू गोमा, सोमनाथ सिग्द्याल, केवलपुरे किसान, भवानी घिमिरे, गोविन्द भट्ट, पोषण पाण्डेदेखि बम देवान, बद्री भिखारी, वेणु आचार्य, अमर गिरी, पुरुषोत्तम सुवेदी, राजव, राजेन्द्र पराजुली, महेश प्रसाईँ, राजकुमार केसी, कर्णप्रखर धिताल आदिका कविता कालजयी नभएकाले यसमा परेनन् वा कविताभन्दा अन्य विधामा ती वा अन्य स्रष्टा प्रख्यात भएकाले यसमा ठाउँ नदिइएको भनी मान्नुपर्ने हुन्छ ।

त्यस्तै विसं २०२८–३१ सम्म जन्मेका कविहरूका कविता पनि सोही कोटिमा परेको ठान्नुपर्ने भएको छ । विसं २०४६ सम्म राष्ट्रिय पत्रपत्रिकामा प्रकाशन भइसकेका रचनाकार मात्र सङ्ग्रहमा छानिनाले पनि केही व्यक्ति र तिनका रचना यसमा परेनन् । यस्ता सामयिक तथा अन्य सङ्कलन प्रकाशन गर्दाको जोखिम के हो भने सबै लिङ्ग, जाति, वर्ग र समुदायलाई समेट्नैपर्ने हुन्छ । एकातिर कविलेखकहरू वैचारिक रूपले विभिन्न वादमा छरिएकाले तिनलाई उपेक्षा गर्न मिल्दैन भने अर्कातिर आफू–आफन्त, इष्टमित्र, नाताकुटुम्ब तथा गुट–समूहलाई त झन् बेवास्ता गर्नै सकिँदैन । यस्तो समावेशिताले गर्दा प्रस्तुत कृतिकै कतिपय रचनालाई पनि जबर्जस्ती ‘कालजयी’ मान्न पाठक वा आलोचक बाध्य हुन सक्छन् । व्यक्ति स्थापित हुनु र रचना कालजयी बन्नु फरक कुरा हुन् ।

यत्रो भीमकाय जोखिमपूर्ण पुस्तक प्रकाशन गर्दा पनि सम्पादकले कुनकुन कृतिबाट भूमिकाका अंश लिइएको हो, त्यसको उद्धरण गर्न अथवा पादटिप्पणी गर्न भने चुक्नुभएको छ । धेरै ठाउँमा प्रकाशन भइसकेका नेपाली कविताका यस्ता विभिन्न चरण र प्रवृत्तिको पुनःलेखनलाई भूमिका लेखक वा सम्पादकले आफ्नै मौलिक लेखन भनाउनु हुँदैनथियो । त्यस्तै प्रकाशित केही कवितामा रहेका कथ्यको पनि कतै न कतै विश्लेषण भइसकेका हुनाले तिनलाई पनि सम्पादकले श्रेय दिनुपथ्र्याे । जुन कार्यदलको सहयोग लिएर कृति प्रकाशन गरिएको छ, त्यसको पारदर्शिता भएका भए भावी दिनमा अन्य समालोचक र यस्तै सङ्कलनकर्तालाई तिनसँगसम्पर्क गर्न सजिलो हुन्थ्यो ।

अर्काे कुरा, त्यो कार्यदल त प्रस्तुत सङ्ग्रहका मात्र नभएर समग्र नेपाली साहित्यकै सम्पत्ति पनि हुन् जसले यस्तो बृहताकार कृतिको जन्मलाई साथ दिए, जो अब गुमनाम भए । सम्पादकलाई विलयन लेखन आन्दोलनमा सदैव साथ दिने चेतनाथ धमलाको नाम पनि भूमिकामा आइदिएको भए राम्रो हुन्थ्यो । भूमिका लेखनमा केही मुद्राराक्षसगत–वर्णविन्यासगत, केही वाक्यगत र केही तथ्यगत त्रुटि देखिन्छन् । भावी दिनमा विरलै जन्मने यस्ता कृतिका गरिमा, निष्पक्षता र सर्वग्राह्यतामा भने प्रश्न उठाइने मौका कसैलाई दिनुहुन्न । (रासस)